काठमाडौँमा आज यो वर्षकै न्यून तापक्रम


काठमाडौँ । काठमाडौँ उपत्यकाको तापक्रम आज यो वर्षको हालसम्मकै कम मापन गरिएको छ । काठमाडौंमा आज बिहान साढे ५ बजे न्यूनतम तापक्रम ३।४ डिग्री सेल्सियस मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३।५ डिग्री सेल्सियस मापन गरिएको थियो । सोमबारभन्दा न्यूनतम तापक्रम आज थप घटेको हो ।

यसैबीच, आज देशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना छ । चारवटा प्रदेशका केही भूभागमा वर्षा र हिमपातको सम्भावना रहेको हो । विभागका अनुसार दिउँसो तराई भूभागका अधिकांश स्थानहरूमा हुस्सु र कुहिरो रहनेछ ।

कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

प्रकाशित मिति: २२ पुस २०८२, मंगलबार  ०७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।