किन घट्यो सहुलियत ऋण लिनेको संख्या ?


काठमाडौँ । सरकारले ब्याज अनुदानसहित सहुलियतमा उपलब्ध गराउँदै आएको ऋण लिनेको संख्या घट्न थालेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा सहुलियत ऋण लिनेको संख्या गत वर्षको तुलनामा ५१.३६ प्रतिशत घटेको छ ।

चालु आवको पाँच महिना (साउन–मंसिर) मा विभिन्न शीर्षकमा ७९ हजार ५१० जनाले सहुलियत ऋण लिएका छन् । उक्त ऋणीहरूले जम्मा ६१ अर्ब ६७ करोड ६ लाख रुपैयाँ ऋण लिएका छन् । जबकि गत आवको सोही अवधीमा एक लाख २० हजार २७४ जना ऋणीहरुले १ खर्ब २६ अर्ब ८१ करोड ९ लाख रुपैयाँ बराबरको ऋण लिएका थिए ।

नेपाल सरकारले २०७५ मा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ स्वीकृत गर्दै राष्ट्र बैंकमार्फत विभिन्न सात शीर्षकमा ब्याज अनुदानसहित सहुलितपूर्ण कर्जा लगानी गर्दै आएको थियो । त्यसमा तीन शीर्षक थप भई हाल १० शीर्षकमा सहुलियतपूर्ण कर्जा लगानी हुँदै आएको छ । जसमध्ये महिला उद्यमशील कर्जामा ६ प्रतिशत र त्यसबाहेक नौ शीर्षकमा पाँच प्रतिशत ब्याज अनुदान सरकारले दिँदै आएको छ ।

दश शीर्षकमध्ये सबैभन्दा धेरै कर्जा व्यावसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा गएको छ । उक्त शीर्षकमा ३० हजार ५१८ जना ऋणीलाई ४६ अर्ब ६३ करोड ९ लाख रुपैयाँ ऋण लगानी भएको छ । गत वर्षको तुलनामा यस वर्ष ऋण लगानी ५ हजार जना ऋणीहरु घटेका छन् । यस शीर्षकमा गत वर्ष ४६ हजार ३५६ जना ऋणीहरुले ८६ अर्ब ८९ करोड ८ लाख रुपैयाँ ऋण लिएका थिए ।

व्यवसायिक कृषि तथा पशुपंक्षी शीर्षकमा धितोसहित विनाधितो कर्जा लगानी हुने गरेको छ । कृषिपछि महिला उद्यमशीलता कर्जामा धेरै लगानी भएको छ । महिला उद्यमशील कर्जा शीर्षकमा ४७ हजार ९०९ ऋणीले १४ अर्ब २४ करोड २ लाख रुपैयाँ ऋण लिएका छन् । उक्त शीर्षकमा गत आवको सोही अवधीमा ७१ हजार ८८३ जना ऋणीहरुले ३८ अर्ब २९ करोड रुपैयाँ ऋण लिएका थिए ।

यस्तै, शिक्षित युवा स्वरोजगार शीर्षकमा ८८ जना ऋणीले ९ लाख रुपैयाँ कर्जा लिएका छन् । विदेशबाट फर्केका युवा परियोजना शीर्षकमा ३६३ जना ऋणीले ६ करोड ६ लाख रुपैयाँ ऋण लगानी भएको छ । दलित समुदाय व्यवसाय विकास शीर्षकमा ४७१ जनाले ११ करोड २ लाख कर्जा स्वीकृत भएको तथ्यांकमा उल्लेख गरिएको छ । उच्च र प्राविधिक तथा व्यावसायिक शिक्षा शीर्षकमा ४९ जना ऋणीले ६ लाख रुपैयाँ कर्जा परिचालन भएको छ ।

त्यसैगरी, कपडा उद्योग सञ्चालन गर्न दिने कर्जा ८१ जना ऋणीहरुले ५९ करोड ४ लाख रुपैयाँ लगानीमा रहेको छ । सुरुमा नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीले मात्रै ब्याज अनुदानको सहुलियतपूर्ण कर्जा लगानी गर्ने गरेकोमा हाल लघुवित्त संस्थामार्फत पनि लगानी हुँदै आएको छ ।

पछिल्लो समय फार्म सञ्चालन मार्फत ऋण कारोबार गरी सहुलियत कर्जाको फाइदा लिए पनि सम्झौता अनुसार व्यवसायमा नभई अन्य क्षेत्रमा लगानी गरेका कारण पनि बैंक तथा वित्तिय संस्थाले ऋणीलाई कडाई गर्दै आएकोले सहुलियत कर्जा लिने ऋणीहरु घट्दै गएको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सिईओ) देवेन्द्र खनाल बताउँछन् । ‘एउटा कामको लागि भनेर ऋण लिने र सो अनुसार कार्य नगर्दा बैंकहरुले ऋण दिन कडाई गर्दा ऋणीहरु घटे र लगानी रकम पनि घट्यो’ उनले भने ।

सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी कार्यविधि, २०८२ मार्फत अब सरकारले ३ प्रतिशत मात्र ब्याज अनुदान दिने भएको छ । नयाँ कार्यविधिसँगै २०७५ सालमा जारी पुरानो कार्यविधि खारेज भएको छ । नयाँ कार्यविधि लागु भएपछि भने ऋणीहरु पनि बढ्ने उनले बताए ।

प्रकाशित मिति: ३० पुस २०८२, बुधबार  ०७ : २३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।