काठमाडौं । वाणिज्य बैंकहरूले माघ महिनाका लागि पनि ब्याजदर घटाएका छन् । अधिक तरलताका कारण हरेक महिना बैंकहरूले ब्याजदर घटाएका हुन् ।
वाणिज्य बैंकहरूले माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम औसतमा ४.६८ प्रतिशतविन्दुका दरले ब्याजदर दिने भएका छन् । जुन पुस महिनाको तुलनामा ०.१४ प्रतिशतविन्दु कम हो ।
पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा बैंकहरूको अधिकतम औसत ब्याजदर ४.८३४ प्रतिशतविन्दु थियो ।
माघका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ११ बैंकले ब्याजदर घटाएका छन् । जसमध्ये हिमालयन र माछापुच्छ्रे बैंकले सबैभन्दा बढी ०.५ प्रतिशतविन्दुका दरले ब्याजदर घटाएका छन् ।
माघका लागि ब्याजदर घटाउने बैंकहरूमा हिमालयन, सिद्धार्थ, सानिमा, लक्ष्मी सनराइज, माछापुच्छ्रे, सिटिजन्स, कुमारी, एभरेष्ट, कृषि विकास, नेपाल एसबिआई र स्ट्याण्डर्ड चार्टड बैंक छन् ।
माघ महिनामा प्राइम कमर्सियल बैंकले भने व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर बढाएको छ । पुस महिनामा सबैभन्दा कम अधिकतम ब्याजदर (४.२५ प्रतिशत) रहेको यस बैंकले माघका लागि भने बढाएर ४.४ प्रतिशत पुर्याएको छ । बैंकले ०.१५ प्रतिशत विन्दुका दरले ब्याजदर बढाएको हो ।
माघ महिनाका लागि संस्थागत मुद्दती निक्षेपको अधिकतम औसत ब्याजदर पनि घटेको छ ।
बैंकहरूको यस्तो ब्याजदर औसतमा ०.०६२ प्रतिशत विन्दु घटेको छ । माघ महिनाका लागि ४ बैंकहरूले संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने बाँकी १६ बैंकहरूले भने यस्तो निक्षेपको अधिकतम ब्याजदरलाई पुस महिनाकैमा स्थीर राखेका छन् ।













प्रतिक्रिया