काठमाडौँ । सरकारले ‘पेट्रोलमा इथानोल मिश्रण सम्बन्धी आदेश–२०८२’ स्वीकृत गरेको छ । मन्त्रीपरिषद् बैठकले इथानोल मिश्रण गर्ने आदेश स्वीकृत गरेसँगै दुई दशकदेखि योजना बनेर पनि कार्यान्वयन हुन नसकेको योजना अघि बढ्ने भएको हो ।
सरकारले २०६० सालमा नै पेट्रोलमा इथानोल मिसाउने कुरा अघि सारेतापनि राजनीतिक अस्थिरताका कारण यो योजना छायामा परेको थियो । उत्पादन, आपूर्ति र उचित मापदण्डका विषयमा सरकार गम्भिर भएर नलाग्दा इथानोललाई प्रयोगमा ल्याउन सकिएको छैन ।
नेपालले १० प्रतिशत मिश्रणको लक्ष्य राख्दै गर्दा भारत, ब्राजिल लगायतका देशले १० देखि ४० प्रतिशतसम्म इथानोल मिश्रण गरेर पेट्रोल बिक्री गर्दै आइरहेका छन् ।
सन् २०१४ मा १.५ प्रतिशत मात्र इथानोल मिश्रण गरेको भारतले सन् २०२२ मा आइपुग्दा १० प्रतिशत मिश्रण गर्न सफल भएको थियो । भारतले अहिले २० प्रतिशत इथानोल मिश्रण गर्दै आइरहेको छ । यस्तै ब्राजिलले पेट्रोलमा ४० प्रतिशतसम्म इथानोल मिश्रण गर्ने भएको छ ।
नेपालमा भने यो योजना दुई दशक अघि नै ल्याइएपनि नीतिगत रूपमा अगाडि बढ्न सकेको छैन । समयमा उचित मापदण्ड तय गर्न नसकेका कारण दुई दशकदेखि इथानोलको प्रयोग गर्न नसकिएको प्रवन्ध निर्देशक डा. चण्डिकाप्रसाद भट्ट बताउँछन् । उत्पादन, मिश्रण र उद्योगीहरुसँग समन्वयको अभावमा इथानोलको प्रयोगलाई सार्थकता दिन नसकिएको उनी बताउँछन् । विगतमा व्यवस्थापक कमजोर भएका कारणले गर्दा इथानोल प्रयोगमा ल्याउन दुई दशक लागेको उनले बताए ।
यस्तै, इथानालेले इन्जिन बिग्रिने, माइलेज घट्ने चर्चा चलिरहँदा भट्ट भने इथानोल मिश्रणपछि अहिलेको भन्दा कम मूल्यमा पेट्रोल पाइने र इन्जिन पनि लामो समयसम्म नबिग्रिने दाबी गर्छन् । अन्तराष्ट्रिय बजारमा नै इथानोलको प्रयोग बढिरहेको बताउँदै भट्टले भने, ‘इथानोल नेपालले मात्र प्रयोगमा ल्याउन लागेको हैन । गुणस्तर र मापदण्ड पूर्ण रूपमा पालना गरिने भएकोले इन्जिन बिग्रने समस्या हुँदैन ।’
यता, नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधान भने इथानोल मिश्रण पछि सवारी साधनले दिने माइलेज कम हुने भएकाले मूल्य घटेतापनि खासै उपलब्धि नहुने बताउँछन् । यस्तै, आयात निगमले बिक्रेताहरूसँग छलफल नै नगरी इथानोल मिसाउने कुरा गरिरहेको बताउँदै उनले निगम प्राविधिक, व्यवहारीक ज्ञान दिने कुरामा चुकेको आरोप लगाए । निगमका कर्मचारी, उपभोक्ता र बिक्रेतालाई सुरुमा तालिम दिएर मात्र मिश्रणको प्रक्रिया थाल्नुपर्नेमा उनले बताए ।
पछि गर्दै गर्दा नेपालमा इथानोल उत्पादन नै गर्न सकिएन भने बाहिरबाट ल्याउनु पर्ने बाध्यता हने भएकोले यसको विषयमा पनि निगम गम्भिर हुनुपर्ने उनले बताए ।
इथानोलमा पेट्रोलमा भन्दा प्रति लिटर लगभग ३४ प्रतिशत कम उर्जा हुन्छ, र सैद्धान्तिक रुपमा शुद्ध इथानोलको प्रज्ज्वलनबाट गाडीमा प्रति लिटर पेट्रोल भन्दा ३४ प्रतिशत कम शक्ति उत्पन्न हुन्छ । नेपालमा पेट्रोलसँग बायो–इथानोल मिसाउनाले कार्बन उत्सर्जन र इन्धन आयातमा उल्लेख्य कमी ल्याउनुका साथै आर्थिक लाभ पनि पुर्याउन सक्छ ।
नेपालमा भएका विगतका प्रयासहरु
नेपालमा पेट्रोलियम पदार्थमा बायो–इथानोल मिसाउने अवधारणा वि.सं. २०६० साल(सन् २००३) मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पेट्रोलमा इथानोल मिसाउने आदेश दिएपछि सुरु भएको थियो ।
नेपाल आयल निगमको अमलेखगन्ज डिपोमा मिश्रणका लागि आवश्यक उपकरणहरू समेत जडान गरिएका थिए । तर, मूल्य निर्धारण र खरिद सम्झौता हुन नसक्दा यो योजना अघि बढ्न सकेन। यसैबीच, वि.सं. २०६६–६७ को बजेटले जेट्रोफा (सजिवन)बाट बायो–डिजेल उत्पादन गर्ने लक्ष्य राखे पनि त्यो सफल हुन सकेन ।
नेपालको १३औँ योजना र सन् २००६ को ग्रामीण ऊर्जा नीतिले जैविक इन्धन उत्पादनका लागि नीतिगत व्यवस्था गर्ने प्रतिवद्धता जनाएका थिए । आर्थिक वर्ष २०७१/७२ को नीति तथा कार्यक्रममा पनि यसलाई समेटिएको थियो, तर हालसम्म ठोस प्रगति हुन सकेको छैन ।
यस्तो छ निगमको तयारी
सरकारले १० प्रतिशत इथानोल मिश्रण गर्न अनुमती दिएतापनि निगमले पहिला २ प्रतिशत इथानोल मिश्रण गर्ने तयारी गरेको छ । अहिलेको उत्पादनले २ प्रतिशतमात्र इथानोल मिश्रण गर्न पुग्ने भएकोले सोही अनुसार गर्न लागिएको निगमका प्रवन्ध निर्देशक भट्टले बताए । निगमले त्यसको लागि आवश्यक ट्यांकीहरु तयारी अवस्थामा राखिएको उनले बताए । ‘हामीसँग ट्याङ्कीहरू उपलब्ध छन् । इथानोल मिश्रण गर्न ‘ब्लेन्डिङ पम्प’ र मेसिनहरूको आवश्यकता पर्छ । करिब एक महिनाभित्र हामी काम सम्पन्न गर्न सक्छौँ’ उनले भने ।
इथानोलमा ९९.५ प्रतिशत शुद्धता कायम राख्न स्टोरेज ट्याङ्कमा आन्तरिक कोटिङ गर्ने र ‘मोइस्चर ट्र्याप’ गर्ने प्रणाली जडान गर्ने काम छिट्टै शुरु गरिने उनी बताउँछन् ।
वायु प्रद्षणको औषधी इथानोल
इथानोलमा पेट्रोलमा भन्दा प्रति लिटर लगभग ३४ प्रतिशत कम उर्जा हुन्छ, र सैद्धान्तिक रुपमा शुद्ध इथानोलको प्रज्ज्वलनबाट गाडीमा प्रति लिटर पेट्रोल भन्दा ३४ प्रतिशत कम शक्ति उत्पन्न हुन्छ । नेपालमा पेट्रोलसँग बायो–इथानोल मिसाउनाले कार्बन उत्सर्जन र इन्धन आयातमा उल्लेख्य कमी ल्याउनुका साथै आर्थिक लाभ पनि पुर्याउन सक्छ ।
एक लिटर पेट्रोलले करिब २.३ केजी कार्बन उत्सर्जन गर्दछ र यसरी नेपालको वार्षिक ३ लाख ६ हजार २२९ किलोलिटर पेट्रोलको खपतले लगभग ७ लाख ४ हजार ३२६ मेट्रिक टन कार्बन उत्सर्जन गर्दछ । १० प्रतिशत इथानोल मिश्रणसँगै पेट्रोल आयात ३० हजार ६२२ किलोलिटरले घटाउन सकिन्छ, जसले वार्षिक रूपमा ७० हजार ४३२ मेट्रिक टन कार्बन उत्सर्जन कम गर्दछ । यो परिवर्तनले हावाको गुणस्तरमा सुधार गर्नेछ, जीवाश्म इन्धनमाथिको निर्भरता घटाउनेछ र नेपालको जलवायु लक्ष्यहरू पूरा गर्न मद्दत गर्नेछ ।
५ वर्षसम्म कर छुट दिन सुझाव
इथानोल उद्योगको प्रवर्धनका लागि सरकारले देशभित्र स्थापित उद्योगलाई ५ बर्ष सम्म करछुट गरि स्वदेशी उत्पादनलाई प्रश्रय गनुपर्ने इथानोल उत्पादन गर्ने उद्देश्यले स्थापना भएको कियान केमिकल्सका सञ्चालक दिनेश पौडेल बताउँछन् । यस्तै, उनले औद्योगिक सामान आयातको लागि भन्सार, मुल्यअभिबृद्धि कर लगायत छुटको व्यवस्था गर्ने व्यवस्था गर्नुपर्ने बताए ।
उनले उद्योगको प्रबद्र्धन गर्नको लागि सहुलियत ऋणको व्यवस्था गर्ने र नेपाल राष्ट्र बैंक मार्फत रिफार्ईनान्सिङ्ग सुविधाको व्यवस्था गर्ने व्यवस्था गर्नुपर्ने बताउँदै उनले छिमेकी मित्रराष्ट्रहरुले वैकल्पिक इन्धनको उत्पादनलाई दिए जस्तै सुविधाहरु दिएर राष्ट्रिय उद्योगलाई प्रश्रय दिनुपर्नेमा जोड दिए ।
अहिले नेपालमा चिनी कारखानासँग जोडिएका ४–५ वटा डिस्टिलरी छन्, ‘कार्यविधि स्पष्ट बनेपछि दुईवटा ठुला कारखानाले भने इथानोल उत्पादन सुरू गर्न सक्छन् ।
के हो इथानोल ?
इथानोल एक प्रकारको जैविक इन्धन (बायो–फ्युल) हो, जुन वनस्पतिजन्य स्रोतहरूबाट तयार पारिन्छ । नेपालमा विशेषगरी चिनी उद्योगबाट निस्कने ’मोलासिस’ (खुँदो) र सिमल तरुलबाट इथानोल उत्पादन गर्न सकिन्छ ।
यद्यपी भारतले भने मकै र गहुँबाट पनि इथानोल उत्पादन गर्दै आइरहेको छ । सवारी साधनका लागि प्रयोग गरिने इथानोल ९९.५ प्रतिशत शुद्ध हुनुपर्छ । यसको मिश्रणले पेट्रोलको कार्यक्षमता सुधार्ने मात्र नभई कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडको उत्सर्जनमा समेत भारी कटौती गर्ने गर्दछ ।
कति छन् नेपालमा इथानोल उत्पादन गर्ने कम्पनी ?
नेपालमा दैनिक १०० किलोलिटर बायो–इथानोल उत्पादन गर्न सक्ने क्षमता रहेको अनुमान छ । नेपालमा वार्षिक ३० लाख टन उखु र ठूलो मात्रामा मकै उत्पादन हुन्छ। यसैबाट इथानोल उत्पादन गर्न सकिने विज्ञहरु बताउँछन् ।
अहिले नै २ वटा कम्पनी इथानोल उत्पादनको लागि तयार रहेको नेपाल चिनी उद्योगी संघका अध्यक्ष शशिकान्त अग्रवलले बताए । यद्यपी, अहिले नेपालमा चिनी कारखानासँग जोडिएका ४–५ वटा डिस्टिलरी रहेको उनले बताए । ‘अहिले नेपालमा चिनी कारखानासँग जोडिएका ४–५ वटा डिस्टिलरी छन्, उनले भने ‘कार्यविधि स्पष्ट बनेपछि दुईवटा ठुला कारखानाले भने इथानोल उत्पादन सुरू गर्न सक्छन् ।’ ती दुई उद्योगमा दिनको करिब २ लाख लिटर जति इथानोल उत्पादन गर्न सक्ने क्षमता रहेको उनको भनाइ छ ।












प्रतिक्रिया