काठमाडौँ । कामना सेवा विकास बैंक लिमिटेडको नाफामा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा बैंकले ३९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २२.३४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको खुद ब्याज आम्दानी ११.१९ प्रतिशतले बढेर १ अर्ब २१ करोड १४ लाख रुपैयाँ पुगेको हो ।
बैंकको निष्क्रिय कर्जा भने समीक्षा अवधिमा ४.३५ प्रतिशतबाट घटेर ४.१ प्रतिशतमा झरेको छ भने इम्पेरमेन्ट चार्ज पनि १९ करोड ६४ लाख रुपैयाँबाट घटेर १८ करोड ७१ लाख रुपैयाँमा खुम्चिएको छ । खुद ब्याज आम्दानी बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण बैंकको खुद नाफा बढ्न पुगेको हो ।
यस्तै, बैंकको खुद फि तथा कमिशन आम्दानी ९.१६ प्रतिशतले बढेर १५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी १०.८२ प्रतिशतले बढेर १ अर्ब ४२ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा २०.९१ प्रतिशतले बढेर ९६ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
नाफा बढेपनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। पुस मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा २१.२५ प्रतिशतले घटेर २९ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २ रुपैयाँ ६ पैसा बढेर २० रुपैयाँ ४३ पैसा पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ८ पैसा घटेर १५ रुपैयाँ ३२ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात २२.१७ गुणा र प्रतिशेयर नेटवर्थ १५८ रुपैयाँ ७ पैसा रहेको छ।
बैंकले दोस्रो त्रैमासको अन्त्यसम्ममा ६३ अर्ब ६२ करोड ४३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५२ अर्ब १० करोड ८२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब २४ करोड २५ लाख रुपैयाँ सञ्चित छ ।












प्रतिक्रिया