काठमाडौँ । कोभिड १९ यता नेपालको बैंकिङ क्षेत्रमा डिजिटल कारोबारले निकै फड्को मारेको छ । साना पसलदेखि ठूल्ठूला व्यवसायमा पनि अहिले डिजिटल कारोबार हुन थालेको छ । बढ्दो डिजिटल कारोबारकै कारण अहिले मानिसहरुलाई नगद बोक्नुपर्ने बाध्यता लगभग हटेको छ ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक हेर्ने हो भने पछिल्लो समय मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर र वालेटजस्ता सेवाहरुको प्रयोग उल्लेख्य रुपमा वृद्धि भएको देखिन्छ ।
ती माध्यमहरुमा पनि मोबाइल बैंकिङ प्रयोगकर्ता बढेसँगै सोबाट हुुने भुक्तानीमा पनि उछाल आएको छ । चालु आर्थिक वर्ष २०८२/८३ को पाँच महिनामा मोबाइल बैंकिङ मार्फत ६ करोड ३१ लाख २४ हजार पटकमा ५ खर्ब १६ अर्ब ४९ करोड २ लाख रुपैयाँ भुक्तानी भएको छ । गत वर्षको तुलनामा यस वर्ष मोबाइल बैंकिङ मार्फत हुने भुक्तानी ७५.२० प्रतिशतले बढेको छ । जबकी गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधीमा मोबाइल बैंकिङ मार्फत ४ करोड ७४ लाख ४६ हजार ९४८ पटकमा ३ खर्ब ८८ अर्ब ४४ करोड १ लाख रुपैयाँ भुक्तानी भएको थियो ।
त्यसैगरी, अघिल्लो आव २०८०/८१ को वार्षिक रुपमा ४ करोड ५६ लाख ६९ हजार पटकमा ३ खर्ब ७३ अर्ब ९७ करोड ८ लाख रुपैयाँ भुक्तानी भएको थियो भने आव २०७९/८० मा २ करोड ८९ लाख ३ हजार पटकमा २ खर्ब ३३ अर्ब ४४ करोड ६ लाख रुपैयाँ र आव २०७८/७९ मा २ करोड ५ लाख ६४ हजार पटकमा १ खर्ब ६३ अर्ब २५ करोड ५ लाख रुपैयाँ भुक्तानी भएको तथ्यांकमा उल्लेख गरिएको छ ।
बैंकले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आएको छ । केन्द्रीय बैंकले आफ्नो नियमनमा रहेका बैंक तथा वित्तीय संस्थालाई नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न ग्राहकमाझ जनेचतना जगाउन निर्देशन पनि दिँदै आएको छ ।
मोबाइल बैंकिङसँगै अन्य डिजिटल भुक्तानीका माध्यमबाट हुने कारोबार पनि उल्लेख्य बढेको छ । पछिल्लो समय क्यूआरबाट हुने कारोबार उल्लेख्य बढेको छ । चालु आर्थिक वर्षको मंसिरसम्म क्यूआरबाट ४ करोड २१ लख ५६ हजार पटकमा १ खर्ब १७ अर्ब ७९ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो वर्ष सोही अवधिमा क्यूआरबाट २ करोड ३३ लाख ४२ हजार पटकमा ७२ अर्ब २९ करोड करोड १ लाख रुपैयाँबराबरको कारोबार भएको थियो । क्यूआरबाट हुने कारोबार पछिल्लो एक वर्षको अवधिमा ६१.३७ प्रतिशतले बढेको छ ।
त्यस्तै क्यूआरबाट आव २०८०/८१ म ६१ अर्ब ७३ करोड ७ लाख रुपैयाँ, आव २०७९/८० मा ३० अर्ब १४ करोड ८ लाख रुपैयाँ र आव २०७८/७९ मा १४ अर्ब ५२ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
पछिल्लो एक वर्षमा वालेट मार्फत हुने कारोबार पनि १३.५७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष मंसिरसम्म वालेट मार्फत ४० अर्ब ७८ करोड ५ लाख रुपैयाँको कारोबारमा भएकोमा चालु आर्थिक वर्षको मंसिरसम्म बढेर ४६ अर्ब ३२ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ ।
चालु आर्थिक वर्षको पाँच महिनामा कनेक्ट आईपीएसबाट २ खर्ब ३५ अर्ब ४२ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो वर्ष सोही अवधीमा कनेक्ट आईपीएसबाट १ खर्ब ८९ अर्ब ७८ करोड ५ लाख रुपैयाँको कारोबार भएको थियो । कनेक्ट आईपीएसबाट हुने कारोबार पनि २४.०४ प्रतिशतले बढेको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा इन्टरनेट बैंकिङबाट २० अर्ब १४ करोड २ लाख रुपैयाँबराबरको कारोबार भएको छ । अघिल्लो वर्ष सोही अवधीमा इन्टरनेट बैंकिङबाट १७ अर्ब ६४ करोड ६ लाख रुपैयाँको कारोबार भएको थियो ।
केही वर्षअघिसम्म कुनै सामान किन्नुपरे वा कसैलाई पैसा दिनुपरे नगदै बोकेर हिँड्नुपर्ने अवस्था थियो । बैंकमा जम्मा गरिएको रकम निकाल्न घन्टौँ लाइनमा बसेर चेकबाट निकाल्नुपर्ने अवस्था थियो । तर, बैंकिङ क्षेत्रमा प्रविधिको प्रयोग बढेसँगै यो क्रम बिस्तारै घट्दै गएको छ ।
डिजिटल प्रविधिमा आएको विकाससँगै डिजिटल बैंकिङ कारोबार बढेको छ । प्रविधिको बढ्दो प्रयोगसँगै पछिल्लो समय डिजिटल भुक्तानीमा छलाङ आएको हो । स्मार्टफोनको प्रयोग र इन्टरनेट पहुँच वृद्धिपछि मानिसले अहिले सहज र भरपर्दो माध्यमतर्फ आकर्षित हुन्छन् । मोबाइल बैंकिङ, क्युआर, वालेट, इन्टरनेट बैंकिङको प्रयोगले डिजिटल कारोबार सुरक्षित र विश्वसनीय बन्दै गएकोले प्रयोगकर्तामा आकर्षण बढेको हो ।












प्रतिक्रिया