काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रहरुलाई लगानी उठाउनै हम्मे हम्मे परेको छ । एक महिना प्रदर्शनमा रहँदा पनि एउटा चलचित्रले १ करोड कलेक्सन गरेको छ ।
चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन विबरणले चलचित्रहरुलाई लगानी उठाउनै मुस्किल भएको देखाएको हो । बोर्डले हलमा प्रदर्शनमा रहेका चार चलचित्रको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको छ ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र झरी पछिको इन्द्रेणी, गोबर गणेश, भारइल गोर्खे र मिरमिरेको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो । माघ १० गते मध्यरातसम्मको विवरण अनुसार झरीपछिको इन्द्रेणीले १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ कलेक्सन गरेको छ । अर्जुन घिमिरे ‘पाँडे’को निर्देशनमा बनेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ गत पुस ४ गतेबाट प्रदर्शनमा आएको थियो । सो चलचित्रले एक महिना बढी प्रदर्शनमा रहँदा ३९ हजार २१७ टिकट बिक्री गर्दै १ करोड २३ लाख ८८ हजार ८२९ रुपैयाँ कलेक्सन गरेको हो ।
त्यसैगरी, कमाइको दोस्रो स्थानमा चलचित्र ‘गोबर गणेश’ रहेको छ । उक्त, चलचित्रले ४० हजार २३४ टिकट बिक्री गर्दै १ करोड १४ लाख ३५ हजार २०६ रुपैयाँ संकलन गरेको छ । माघ १ गते (माघे संक्रान्ति) देखि प्रदर्शनमा आएको यो चलचित्रले १० दिनमा करोड बढीको कारोबार गरेको हो । सो चलचित्र हास्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ को लेखन तथा निर्देशनमा निर्माण भएको चलचित्र हो ।
तेस्रो स्थानमा रहेको चलचित्र ‘भाइरल गोर्खे’ ले १० हजार ६०५ टिकट बिक्री गर्दै ३४ लाख ५३ हजार ७६० रुपैयाँ आम्दानी गरेको छ । ‘भाइरल गोर्खे’ पनि माघ १ गतेदेखि प्रदर्शनका आएको हो । यो चलचित्र निगम श्रेष्ठले निर्देशन गरेका हुन् ।
यस्तै, चलचित्र मिरमिरेले हालसम्म १० हजार ८१३ टिकट बिक्री गरी ३३ लाख ७२ हजार ७१५ रुपैयाँ आम्दानी गर्दै सूचीको अन्तिम स्थानमा परेको छ । सो चलचित्र पनि माघ १ अर्थात् माघेसक्रान्तिदेखि नै प्रदर्शनका आएको थियो । यो चलचित्र यम शेर्पाको निर्देशनमा तयार भएकाे हो ।
माघे सक्रान्तिदेखि एक साथ प्रदर्शनमा आएका ३ चलचित्रमा ‘गोबर गणेश’ ले भाइरल गोर्खे र मिरमिरेलाई पछि पारेको छ ।
बोर्डले साताको एक दिन चलचित्रको कारोबार विवरण सार्वजनिक गर्दै आएको छ । यद्यपी, निर्माताहरुलाई भने दैनिक विवरण बुझाउने गरेको छ ।












प्रतिक्रिया