काठमाडौँ । सिटिजन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५।७८ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६६ करोड १८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.२८ प्रतिशतले बढेर ३ अर्ब १४ करोड ४५ लाख रुपैयाँ पुगेको छ भने खुद फि तथा कमिशन आम्दानी ३.२४ प्रतिशतले घटेर ६२ करोड ३८ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा ४.६८ प्रतिशतले बढेर ४ अर्ब ११ करोड ८७ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ४।८५ प्रतिशतबाट बढेर ६।८६ प्रतिशत पुगेसँगै इम्पेरमेन्ट चार्ज १ अर्ब ३८ करोडबाट बढेर १ अर्ब ८३ करोड पुगेको छ। जसका कारण खुद ब्याज आम्दानी सामान्य बढेपनि सञ्चालन मुनाफा ४४।६८ प्रतिशत घट्न पुगेको हो।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ४ रुपैयाँ ३३ पैसा घटेर ४ रुपैयाँ ६३ पैसामा झरेको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात ४१।६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ७९ पैसा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ १९ पैसा ऋणात्मक रहेको छ।
चुक्ता पूँजी १५ अर्ब ५० करोड ७४ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ७ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।












प्रतिक्रिया