काठमाडौँ । पछिल्लो समय नेपालबाट छुर्पीको निर्यात घटेको छ । वार्षिक रुपमा ४ अर्बभन्दा बढीको निर्यात हुने छुर्पी पछिल्लो ६ महिनामा १ अर्बमा सीमित रहेको छ । भन्सार विभागको तथ्यांक अनुसार हरेक वर्ष वार्षिक रुपमा ४ अर्ब माथिको छुर्पी निर्यात गर्ने गरेकोमा यस वर्ष ६ महिना बितिसक्दा १ अर्बको मात्र निर्यात गरेको हो ।
चालु आर्थिक वर्ष २०८२/८३ को पुस महिनासम्मको तथ्यांक हेर्दा नेपालबाट कूल १ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ बराबरको छुर्पी निर्यात भएको छ । गत आर्थिक वर्ष २०८१/८२ को वर्षभरी छुर्पी ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँको निर्यात भएको थियो । चालु आवको ६ महिनामा गत आवको आधा पनि निर्यात नभएको तथ्यांकले देखाएको छ ।
हरेक वर्ष नेपालबाट छुर्पी निर्यात बढ्दै गइरहेको थियो । तर, चालु आर्थिक वर्षमा यसको वृद्धिदर घटेको छ । पछिल्लो समय भारत लगायत अन्य मुलुकमा पनि छुर्पीको उत्पादन भइरहेकाले अन्तर्राष्ट्रिय बजार प्रतिस्पर्धी बनिरहेको निर्यात प्रवद्र्धन केन्द्रका सूचना अधिकारी कृष्णराज बजगाई बताउँछन् ।
‘पछिल्लो समय भारतलगायत अन्य मुलुकहरुले पनि छुर्पी उत्पादन गरिरहेका छन् । यसले बजारलाई प्रतिस्पर्धी बनाइरहेको छ । पछिल्लो समय केही मात्रामा निर्यात घटेको जस्तो पनि देखिएको छ’, उनले भने ।
नेपालमा उत्पादन हुने छुर्पी विश्व बजारमा कुकुर र बिरालाहरूको आहारका रूपमा निर्यात हुँदै आएको छ । नेपालमा विगत लामो समयदेखि छुर्पी उत्पादन हुँदै आएको छ । छुर्पी विशेषगरी शेर्पाहरुले चौरी गाईको दुधबाट हिमाली भेगमा बनाउने गर्छन् । अन्य गाईको दुधबाट पनि छुर्पी व्यावसायिक रूपमा तयार गर्ने गरिन्छ । दुध बिक्री गर्न गाह्रो हुने स्थानमा र दूध बिक्री नहुने समयमा यसको उत्पादन हुने गरेको छ ।
निर्यातको पहिलो गन्तव्य अमेरिका
नेपालबाट करिब दुई दर्जनभन्दा बढी मुलुकमा छुर्पि निर्यात हुन्छ । ति मुलुकहरुमध्ये पहिलो गन्तव्य रहेको छ अमेरिका । नेपालमा उत्पादित छुर्पी अमेरिका, क्यानडा, बेलायत, सिंगापुर, मलेसिया लगायतका २७ देशमा निर्यात हुने गरेको भन्सार विभागले जनाएको छ । चालु आवको ६ महिनामा नेपालबाट अमेरिका मात्र १ अर्ब ६१ करोड ३९ लाख ८८ हजार रुपैयाँ बराबरको ९ लाख ११ हजार किलोग्राम छुर्पी निर्यात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ । गत वर्षको तुलनामा यस वर्ष छुर्पी निर्यात कम भएको छ ।
गत वर्षको सोही अवधीमा नेपालबाट ३ अर्ब ९२ करोड ७० लाख १२ हजार रुपैयाँ बराबरको २१ लाख ३६ हजार किलोग्राम छुर्पी निर्यात भएको थियो ।
यस्तै, अमेरिका पछि क्यानडा नेपाली छुर्पीको दोस्रो ठूलो बजार बनेको छ । नेपालबाट ६ महिनाको अवधीमा क्यानडामा १२ करोड २७ लाख रुपैयाँको २ लाख ३७ हजार ८०५ किलो छुर्पी निर्यात भएको छ ।
यस्तै, तेस्रो स्थानमा रहेको यूकेमा नेपालले ६ करोड ५७ लाख रुपैयाँ बराबरको ५८ हजार किलो छुर्पी निर्यात भएको छ । जापानमा ३ करोड २३ लाख रुपैयाँ, साउथ कोरियामा ७२ लाख, यूएईमा ५२ लाख रुपैयाँ र हङकङमा ५० लाख रुपैयाँको छुर्पी निर्यात भएको छ ।
सो अवधीमा नेपालबाट सबैभन्दा कम छुर्पी म्यानमारमा निर्यात भएको छ । ६ महिनामा म्यानमारमा ६ हजार रुपैयाँ बराबरको ९ किलो छुर्पी निर्यात भएको छ । जुन नेपालबाट निर्यात भएको परिणाममा सबैभन्दा कम हो ।
छुर्पी निर्यातको पाँच वर्षे तथ्यांक
नेपालमा पछिल्लो पाँच वर्षमा १५ अर्ब बढी आम्दानी भएको छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा १५ अर्ब ८९ करोड ५३ लाख रुपैयाँ भित्रिएको हो । उक्त मूल्यमा ९१ लाख ७६ हजार किलोग्राम छुर्पी निर्यात भएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ८७ करोड ५८ लाख रुपैयाँ बराबरको १३ लाख ८८ हजार किलोग्राम छुर्पी निर्यात भएको छ । त्यस्तै, गत आव २०८१/८२ मा ४ अर्ब ५१ करोड ४० लाख रुपैयाँको निर्यात भएको छ भने आर्थिक वर्ष २०८०/८१ म ३ अर्ब १८ करोड ४३ पलाख रुपैयाँ, आव २०७९/८० मा ३ अर्ब ४० करोड ९० लाख रुपैयाँको र आव २०७८/७९ मा २ अर्ब ९१ करोड १९ लाख रुपैयाँको निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।












प्रतिक्रिया