काठमाडौँ । फेब्रुअरी १४ नजिँकिदै गर्दा प्रेम जोडीहरूका लागि विशेष मानिने प्रणय दिवस अर्थात् भ्यालेन्टाइन डेको रौनक सुरु भएको छ ।
यो समयमा प्रेमको प्रतीक मानिने रातो गुलाफ र अन्य रङ्गीविरङ्गी फूलहरूको माग उच्च हुने गर्दछ । भ्यालेन्टाइन डेको यही मागलाई सम्बोधन गर्न नेपाली बजारमा छिमेकी मुलुक भारतदेखि सात समुद्र पारि बेलायत र अमेरिकासम्मका फूलहरू भित्रिने गरेका छन् । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कले नेपाली प्रेमजोडीहरूले पनि यो अवसरमा लाखौँको फूल खरिद गर्ने गरेको देखाउँछ ।
तथ्याङ्क अनुसार, चालु आर्थिक वर्षको पुस महिनामा मात्रै नेपालमा १९ लाख १० हजार रुपैयाँ बराबरको फूल आयात भएको छ । यस महिनाको फूल आयातको तथ्यांक हेर्दा ताजा फूलको तुलनामा कृत्रिम (आर्टिफिसियल) फूलको माग बढी रहेको देखिएको छ । पुस महिनामा मात्र १९ लाख ६ हजार रुपैयाँ बराबरको कृत्रिम फूल भित्रिँदा ताजा फूल भने ४ हजार रुपैयाँको मात्र आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्म) फूल आयातमा ठुलो धनराशी विदेशिएको देखिन्छ । यो अवधिमा कुल ४८ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ३ सय २५ केजी कृत्रिम फूल नेपाल भित्रिएको छ । त्यसैगरी ९१ लाख ५४ हजार रुपैयाँ बराबरको ३० हजार ७ सय १९ केजी ताजा फूल विभिन्न देशबाट आयात गरिएको छ ।
चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्मको तथ्याङ्क हेर्दा ९१ लाख ५१ हजार रुपैयाँ बराबरको ३० हजार ९ सय ९४ केजी ताजा फूल र २९ लाख ७१ हजार रुपैयाँ बराबरको ८ हजार ६ सय ६१ केजी कृत्रिम फूल आयात भएको छ ।
फूलको विविधताजस्तै नेपालले फूल आयात गर्ने मुलुकहरू पनि एसिया देखि युरोप र अमेरिका सम्म रहेका छन् । नेपालले फूल आयात गर्ने मुलुकको शीर्षस्थानमा भारत रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख २० हजार रुपैयाँको कृत्रिम फूल र ९० लाख ७२ हजार रुपैयाँ बराबरको ताजा फूल भारतबाट आयात भएको छ । यस्तै अर्काे छिमेकी चीनबाट १७ लाख ४० हजार रुपैयाँको फूल नेपाल भित्रिएको छ । साथै नेपाली बजारमा हङकङ र कुवेतबाट ५–५ हजार रुपैयाँका कृत्रिम फूलहरू आयात भएका छन् । त्यस्तै बेलायत, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट १७ हजार रुपैयाँ बराबरको कृत्रिम फूल आयात हुँदा थाइल्याण्डबाट ७७ हजार रुपैयाँ बराबरको ताजा फूल आयात भएको छ ।
विगत वर्षहरुको पहिलो ६ महिनाको तुलनामा यस वर्षको पहिलो ६ महिनामा फूलको आयातमा केही गिरावट आएको देखिन्छ । गत आर्थिक वर्ष २०८१/८२ को पहिलो ६ महिनामा ३ करोड ८५ लाख ७८ हजार रुपैयाँ बराबरको ३ लाख ४७ हजार केजी ताजा फूल नेपाल भित्रिएको थियो । सोही अवधिमा ६० लाख ९४ हजार रुपैयाँ बराबरको १२ हजार ३ सय ४७ केजी कृत्रिम फूल आयात भएको थियो । उक्त अवधिमा भारतबाट १ करोड ४१ लाख र चीनबाट १६ लाख १६ हजार रुपैयाँको ताजा फूल आयात भएको थियो । यस्तै भारतबाट ५९ लाख ३५ हजार, हङकङबाट ५ हजार, चीनबाट १५ लाख ४२ हजार, अमेरिकाबाट ९ हजार र थाइल्याण्डबाट ४० हजार रुपैयाँको कृत्रिम फूल आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
अघिल्लो आर्थिक वर्षको पहिलो ६ महिनामा फूल आयातको तथ्यांक अझ बढी रहेको थियो । आर्थिक वर्ष २०८०/८१ को पहिलो ६ महिनामा १० करोड २६ लाख ६९ हजार रुपैयाँ बराबरको ३ लाख २१ हजार २ सय ९९ केजी ताजा फूल आयात भएको थियो । सोही अवधिमा १ करोड ४२ लाख २८ हजार रुपैयाँ बराबरको ४१ हजार २ सय ६२ केजी कृत्रिम फूल नेपाल भित्रिएको थियो ।
उक्त अवधिमा भारतबाट मात्रै १० करोड २४ लाख ८० हजार रुपैयाँको ताजा फूल आएको थियो भने अमेरिकाबाट १५ हजार र थाइल्याण्डबाट १३ हजार रुपैयाँको ताजा फूल आयात गरिएको थियो । यस्तै सोहि अवधिमा भारतबाट १ करोड २३ लाख ८० हजार र चीनबाट १५ लाख ५० हजार रुपैयाँको कृत्रिम फूल आयात हुँदा जापानबाट ६७ हजार, उज्वेकिस्तानबाट ११ हजार, थाइल्याण्डबाट १० हजार, क्यानडाबाट २ हजार तथा अमेरिका र जर्मनीबाट २–२ हजार रुपैयाँ बराबरको कृत्रिम फूल आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
फूल आयातको यो तथ्यांक हेर्दा भ्यालेन्टाइन डेले युवा युवतीहरुको माया र प्रेम मात्र होइन नेपाली बजारलाई विश्वका विभिन्न मुलुकसँग जोड्ने काम गरेको छ । पछिल्लो समय स्वदेशमै फूल उत्पादन गरेर आत्मनिर्भर हुने भनिए पनि विशेष अवसरमा हुने आयात रोकिन सकेको छैन ।












प्रतिक्रिया