काठमाडौँं । २०८२ साउनदेखि पुससम्ममा निर्माण क्षेत्रतर्फको कर्जा ७.२ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार, चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा २ खर्ब ४८ अर्ब रुपैयाँ कर्जा निर्माण क्षेत्रमा प्रवाह भएको छ ।
चालु आवको साउनदेखि नै निर्माण क्षेत्रतर्फको कर्जा विस्तार लयमा फर्कन थालेको तथ्यांकले देखाउँछ । यद्यपी गत आवको ६ महिनासम्मको अवधिको तुलनामा भने चालु आवको यस अवधिमा निर्माण क्षेत्रमा केही कम कर्जा विस्तार भएको छ ।
गत आवको सो अवधिमा राजनीतिक स्थिरता रहेकोमा चालु आवको सुरुवातदेखि नै अन्यौल र अनिश्चितताको वातावरण बनेकाले त्यसले कर्जा विस्तारमा धक्का दिएको जानकार बताउँछन् ।
गत साउनमा निर्माण क्षेत्रतर्फको कर्जा ०.६ प्रतिशतले बढेकोमा भदौसम्ममा २.६ प्रतिशत, असोजसम्ममा २.९ प्रतिशत, कात्तिकसम्ममा ३.२ प्रतिशत, मंसीरसम्ममा ५.२ प्रतिशत र पुससम्ममा ७.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । गत असारमा २ खर्ब ३१ अर्ब ३९ करोड रुपैयाँ कर्जा निर्माण क्षेत्रतर्फ विस्तार भएकोमा पुससम्ममा २ खर्ब ४८ अर्ब ५३ करोड रुपैयाँ कर्जा विस्तार भएको छ । पुससम्ममा यस क्षेत्रमा १६ अर्ब ६६ करोड रुपैयाँ कर्जा बढेको हो ।
पछिल्ला महिनाहरूमा ब्याजदर घट्दै गएको र विद्यमान परियोजनाहरूको काममा समेत अवरोध नभएका कारण निर्माण क्षेत्रतर्फको कर्जा विस्तार क्रमशः बढ्दै गएको हो ।
गत आवको साउनमा निर्माण क्षेत्रतर्फको कर्जा ०.४ प्रतिशतले घटेको निर्माण क्षेत्रतर्फको कर्जा भदौसम्ममा १.२ प्रतिशतले बढेको थियो । त्यसपछि क्रमशः निर्माण क्षेत्रतर्फको कर्जा विस्तार वृद्धिको क्रममा थियो ।
राष्ट्र बैंकका अनुसार, गत आवको असोजसम्ममा निर्माण क्षेत्रतर्फको कर्जा २.२ प्रतिशतले बढेकोमा कात्तिकसम्ममा १.८ प्रतिशतले, मंसीरसम्ममा ३.५ प्रतिशतले र पुससम्ममा ७.७ प्रतिशतले बढेको थियो ।
चालु आवको ६ महिनाको अवधिमा निर्माण क्षेत्रमा गएको कर्जामध्ये गैरआवासीय र सडक, पुल जस्ता ठूला निर्माण क्षेत्रमा जाने कर्जा सबैभन्दा धेरै १२.६ प्रतिशतले बढेको छ भने गैरआवासीय क्षेत्रतर्फ ८.१ प्रतिशतले कर्जा विस्तार वृद्धि भएको छ । तर, आवासीय निर्माण कर्जा २.६ प्रतिशत घटेको छ । गत आवको पुससम्ममा २ खर्ब २३ अर्ब ९४ करोड रुपैयाँ कर्जा विस्तार भएको थियो । २०८१ असारमा यस क्षेत्रमा २ खर्ब ७ अर्ब ९९ करोड रुपैयाँ कर्जा विस्तार भएकोमा पुससम्ममा १५ अर्ब ९४ करोड रुपैयाँले बढेको हो ।

गत वर्षको साउन–पुससम्मको अवधिमा निर्माण क्षेत्रतर्फ ७.७ प्रतिशत कर्जा विस्तार वृद्धि भएको थियो । जसमा आवासीय कर्जा २.२ प्रतिशतले बढ्दा गैरआवासीय निर्माण कर्जा ४.६ प्रतिशतले घटेको थियो । यस्तै ठूला निर्माणका परियोजनातर्फको कर्जा १५.४ प्रतिशतले बढेको थियो ।
अर्थतन्त्रको सुस्तता लम्बिँदै जाँदा निर्माण क्षेत्र चलायमान हुन समय लागेको । विगतमा अन्य क्षेत्र सुस्त हुँदा निर्माण क्षेत्र चलायमान हुने र त्यसले अर्थतन्त्रलाई चलायमान बनाउने अवस्था थियो । तर पछिल्लो समय सेयर बजारतर्फ मात्र मात्रै कर्जा बढी प्रवाह भइरहेको छ । अन्य क्षेत्रमा जाने कर्जामा संकुचन कायम नै छ ।
पछिल्लो समय ब्याजदर घटेपनि त्यसको लाभ उद्यमी तथा व्यवसायीले लिन सकेका छैनन् । जेनजी आन्दोलनपछि निजी क्षेत्रले लगानीमैत्री वातावरण नभएको, सुरक्षाको प्रत्याभूति नभएको जस्ता कारणले कर्जाको माग गरेको छैन । त्यसको प्रत्यक्ष असर कर्जा विस्तार र अर्थतन्त्रमा परेको जानकार बताउँछन् ।
यसअघि २०८१ साउनमा निजी क्षेत्रमा गएको निर्माण क्षेत्रतर्फको कर्जा विस्तार वृद्धि ०.४ प्रतिशतले घटेको थियो । तर त्यसपछि क्रमशः लयमा फर्कँदै गएको निर्माण क्षेत्र फेरि दवावमा परेको हो । यद्यपी सुस्त गतिमै भएपनि निर्माण क्षेत्रतर्फको कर्जा विस्तार बढिरहनु राम्रो संकेत भएको जानकार बताउँछन् ।












प्रतिक्रिया