काठमाडौँ । यस वर्षको भ्यालेन्टाइन वीक (प्रणय दिवसको सप्ताह) मा नेपालभर करिब साढे ४ लाख गुलाफको फूलको खपत हुने अनुमान गरेको छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार प्रणय दिवसको एक सातामा मात्रै काठमाडौं उपत्यका र बाहिर गरेर करिब ४ लाख ५० हजार भन्दा धेरै गुलाफको फूल किनबेच हुँदा ५ करोड ६२ लाख रुपैयाँको कारोबार हुने अनुमान रहेको छ ।
प्रेम दिवस फ्रेबु्रअरी ७ तारिखदेखि फ्रेब्रुअरी १४ तारिखसम्म मनाउने गरिनेछ । एक साताको अवधिमा रातो रंगको स्टिम गुलाफ फूलको अत्यधिक माग हुने गर्छ । फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) अध्यक्ष राजेशभक्त श्रेष्ठले नेपालमा प्रेम दिवसको सातामा मात्रै ४ लाख ५० हजार गुलाफको फूल खपत हुने दाबी गर्छन् ।
‘प्रेम दिवसको अवसरमा प्रेमी÷प्रेमिकाले एक आपसमा गुलाफको फूल दिएर प्रेम साटासाट गर्ने संस्कारको विकास भइसक्यो,’ उनले भने, ‘आजभोलि त जुनसुकै उमेर समूहका व्यक्तिले पनि गुलाफको फूल एक आपसमा साटासाट गरेर प्रेमको भाव झल्काउने गरेका छन् । त्यसैले पनि यो बेला गुलाफको फूलको अत्याधिक माग हुने गर्छ ।’
उनका अनुसार काठमाडौं उपत्यकामा प्रेम दिवसको एक सातामा मात्र २ लाख ७० हजार स्टिम गुलाफ खपत हुने गर्छ भने नेपालमा बाहिरका अन्य सहरहरुमा भने १ लाख ८० हजार स्टिम गुलाफ खपत हुने गर्छ ।
फ्यानका अध्यक्ष श्रेष्ठले प्रेम दिवसको अवसरमा ३० प्रतिशत मात्र नेपाली उत्पादनले धान्ने बताउँछन् । प्रेम दिवसलाई सम्बोधन गर्न नेपाली बजारमा छिमेकी मुलुक भारतदेखि अमेरिकासम्मका फूलहरू भित्रिने गरेका छन् ।

‘प्रणय दिवसमा मात्रै ४ लाख ५० हजार वटा गुलाफको फूल आवश्यकता पर्ने गर्छ । सो मध्ये करिब ९० प्रतिशत भारतबाट आयात गरिन्छ भने बाँकी अन्य मुलुक र स्वदेशमा नै उत्पादन हुने गर्छ’ उनले भने । फ्यानका अध्यक्ष श्रेष्ठले अन्य सिजनमा स्वदेशमा नै उत्पादन भएको गुलाफले बजारको माग थेग्ने भएपनि प्रणय दिवसको अवसरमा भने अन्य मुलुकबााट आयात नगरीकनै सुखै नहुने बताउँछन् ।
‘जाडो मौसमको कारणले पुसदेखि फागुनसम्मको अवधिमा नेपालमा प्रशस्त रुपमा गुलाफको फूल उत्पादन गर्न सकिदैंन,’ उनले भने ‘प्रणय दिवसमा ९० प्रतिशतभन्दा धेरै फूल भारतबाटै आयात गरेर चलाइने गर्छ ।’ प्रेम सप्ताह अवधि भरिमा झण्डै ५ करोडसम्मको व्यवसायिक कारोबार हुने अनुमान गरिएको छ भने फूलको गुणस्तर अनुसार प्रति स्टिम उपभोक्ता मूल्य १०० देखि १५० को हाराहारीमा पर्ने गर्छ ।
फ्यानका अनुसार गत वर्ष करिब ४ लाख २५ हजार वटा स्टिम गुलाबको कारोबार भएको थियो । यस वर्ष २५ हजार वटा फुलको माग बढेको हो । नेपालमा चाडपर्व बाहेकको सामान्य दिनमा प्रति दिन सरदर ८÷१० हजार स्टिम गुलाब फूलको माग हुने गर्छ ।
साथै, फेब्रुअरी महिनामा पर्ने प्रेम दिवसको अवसरमा नेपालमा प्रतिकुल मौसम अर्थात जाडो सिजन हुने भएकाले यहाँका गुलाफको आन्तरिक उत्पादनमा कमी आएकाले आयात वर्षेनी बढेको उनले बताए ।
अन्य समयमा स्वदेशी उत्पादनले दैनिक गुलाब फुलको माग पुरा गर्ने भए पनि यतिबेला धेरै माग हुने भएकाले स्वदेशी उत्पादनले नपुग्ने फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) महासचिव तथा फुल व्यवसायी हिरामणी शर्माले बताए ।
उनका अनुसार, अघिल्ला वर्षहरुमा भन्दा फुलको माग बढ्दै गएको हो । व्यवसायिक रुपमा गुलाब उत्पादन गर्ने फार्म खुल्न थालेका छन् । व्यवसायीले फुलखेतीमा लगानी समेत वृद्धि गरेका छन् । अब विस्तारै फुलमा आत्मनिर्भर हुनेछन् ।
नेपालमा गुलाब फुलको खेती सबैभन्दा बढी काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, काभ्रे र रुपन्देहीमा हुन्छ । अन्य जिल्लामा पनि फुलको व्यवसायिक खेती विस्तार भइरहेको उनले जानकारी दिए ।
नेपालमा चालु आर्थिक वर्षको पुस महिना नेपालमा १९ लाख १० हजार रुपैयाँ बराबरको फूल आयात भएको छ ।
यस महिनाको फूल आयातको तथ्यांक हेर्दा ताजा फूलको तुलनामा कृत्रिम (आर्टिफिसियल) फूलको माग बढी रहेको देखिएको छ । पुस महिनामा मात्र १९ लाख ६ हजार रुपैयाँ बराबरको कृत्रिम फूल भित्रिँदा ताजा फूल भने ४ हजार रुपैयाँको मात्र आयात भएको विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षको पहिलो छ महिना (साउनदेखि पुससम्म) फूल आयातमा ठुलो धनराशी विदेशिएको देखिन्छ । यो अवधिमा कुल ४८ लाख ७८ हजार रुपैयाँ मूल्य बराबरको १२ हजार ३ सय २५ केजी कृत्रिम फूल नेपाल भित्रिएको छ । त्यसैगरी ९१ लाख ५४ हजार रुपैयाँ बराबरको ३० हजार ७ सय १९ केजी ताजा फूल विभिन्न देशबाट आयात गरिएको छ ।
नेपालले फूल आयात गर्ने मुलुकको शीर्षस्थानमा भारत रहेको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा ३१ लाख २० हजार रुपैयाँको कृत्रिम फूल र ९० लाख ७२ हजार रुपैयाँ बराबरको ताजा फूल भारतबाट आयात भएको छ । यस्तै अर्काे छिमेकी चीनबाट १७ लाख ४० हजार रुपैयाँको फूल नेपाल भित्रिएको छ । साथै नेपाली बजारमा हङकङ र कुवेतबाट ५–५ हजार रुपैयाँका कृत्रिम फूलहरू आयात भएका छन् । त्यस्तै बेलायत, संयुक्त अरब इमिरेट्स (यूएई) र कतारबाट १७ हजार रुपैयाँ बराबरको कृत्रिम फूल आयात हुँदा थाइल्याण्डबाट ७७ हजार रुपैयाँ बराबरको ताजा फूल आयात भएको छ ।












प्रतिक्रिया