‘गरिमा सुवर्ण योजना’ सार्वजनिक रुपमा निष्काशन गर्न धितोपत्र बोर्डबाट स्वीकृत


काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कोष प्रवद्र्धक तथा गरिमा क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको सामूहिक लगानी कोष ‘गरिमा म्युचुअल फन्ड’ अन्तर्गत विकास बैंकबाट प्रवद्र्धित पहिलो खुलामुखी योजनाको रूपमा ‘गरिमा सुवर्ण योजना’ ले सार्वजनिक निष्काशनका लागि स्वीकृति प्राप्त गरेको छ ।

नेपाल धितोपत्र बोर्डले माघ २१ गते उक्त योजनाको सार्वजनिक निष्काशनका लागि स्वीकृति दिएको हो । यो योजना एक अर्ब रुपैयाँ बराबरको रहेको छ ।

प्रारम्भिक रुपमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँको दरले ५ करोड इकाई बिक्रीको लागि सार्वजनिक निष्काशन हुने उक्त योजनामा आवेदकले न्यूनतम १०० इकाई देखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

बैंकको सहायक कम्पनी गरिमा क्यापिटल लिमिटेड नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त मर्चेन्ट बैंकर हो । कम्पनीले सामूहिक लगानी कोष व्यवस्थापनसम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

यस अघि सार्वजनिक निष्काशन गरिएको १ अर्ब २५ करोड रकम बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना “गरिमा समृद्धि योजना” हाल सञ्चालनमा रहेको छ ।

प्रकाशित मिति: २९ माघ २०८२, बिहिबार  १७ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।