मुग्लिन–मलेखु सडकः एघार किलोमिटर कालोपत्र पूरा


चितवन । पृथ्वी राजमार्गअन्तर्गत ११ किलोमिटर नागढुङ्गा–मलेखु खण्ड कालोपत्र भएको छ । गत वर्ष आठ किलोमिटर कालोपत्र गरिएकामा यस वर्ष थप तीन किलोमिटर कालोपत्र गरिएको हो ।

नागढुङ्गा–मुग्लिन सडक आयोजनाका इन्जिनियर विजय दरैका अनुसार तेस्रो चरणअन्तर्गत हालसम्म ४० प्रतिशत अर्थात् कुरिनटार, फिस्लिङ, चरौदी र विशालटारका केही क्षेत्र कालोपत्र भएका छन् ।

धादिङको बाँदरेमा कालोपत्र जारी छ भने फिस्लिङ र जवाङ खोला क्षेत्रमा बेस र सबबेस राखिएको छ । उक्त खण्डका छ वटा पुलमध्ये हुग्दी र चरौदीमा जमिनमाथिको काम भइरहेको छ । निर्माण सामग्री अभाव नहोस् भन्नेमा आफूहरू रहेको उनले बताए ।

धादिङको चरौदी र बेनिघाट एवं इच्छाकामनाबाट सामग्री लगिएको भएपनि लामो समयका लागि काम गर्न सामग्री अभाव हुने आशङ्का उनले व्यक्त गरे ।

विश्व बैंकको ऋण सहयोग चार अर्ब ८० करोड ५९ लाख रुपैयाँमा ३८ किलोमिटर लामो यो सडकखण्ड स्तरोन्नति थालिएको हो ।

प्रकाशित मिति: ३ फाल्गुन २०८२, आइतबार  १४ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।