बैंकिङ प्रणालीबाट ४० अर्ब संकलन गर्दै राष्ट्र बैंक


काठमाडौँ । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा संकलन गर्ने भएको छ ।

केन्द्रीय बैंकले आज फागुन ५ गते फेरि निक्षेप संकलनबाट बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ संकलन गर्ने भएको हो । यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् ।

यो ८९ दिने निक्षेप संकलन उपकरणको आउँदो २०८३ जेठ ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति: ५ फाल्गुन २०८२, मंगलबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।