राष्ट्र बैंकले स्थापना गर्यो तथ्यांक महाशाखा


काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘तथ्यांक महाशाखा’ स्थापना गरेको छ। राष्ट्र बैंकले सम्पूर्ण वित्तीय तथा मौद्रिक तथ्यांकलाई एकीकृत, व्यवस्थित र प्रविधिमैत्री बनाउने उद्देश्यसहित नयाँ महाशाखा खडा गरेको हो ।

गभर्नरको प्रत्यक्ष निगरानीमा रहने तथ्यांक महाशाखाले वित्तीय तथा मौद्रिक तथ्यांकलाई एउटै प्लेटफर्ममार्फत व्यवस्थापन गर्नेछ ।

यसबाट काममा दोहोरोपना अन्त्य हुने, तथ्यांकको गुणस्तर सुधार हुने तथा समयमै प्रतिवेदन सार्वजनिक गर्न सहयोग पुग्ने राष्ट्र बैंकको विश्वास छ ।

केन्द्रीय बैंकले पछिल्लो समय डिजिटल रिपोर्टिङ प्रणाली, सुपरिवेक्षण प्रविधि र नियामकीय प्रविधि प्रयोगलाई विस्तार गर्दै आएको छ ।

नयाँ महाशाखाले आवश्यक समन्वय गरी तथ्यांक संकलन, प्रमाणीकरण, विश्लेषण र प्रकाशनलाई थप प्रभावकारी बनाउने राष्ट्र बैंकले जनाएको छ ।

विशेषगरी मौद्रिक नीति निर्माण, वित्तीय स्थायित्व मूल्यांकन तथा जोखिम पूर्वानुमानका लागि विश्वसनीय र रियल-टाइम डाटाको आवश्यकता बढ्‌दै गइरहेको सन्दर्भमा नयाँ महाशाखा खडा गरिनुलाई रणनीतिक सुधारका रूपमा हेरिएको छ ।

प्रकाशित मिति: ६ फाल्गुन २०८२, बुधबार  ११ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।