मातृभूमी लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३ करोड ५३ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा लघुवित्त ८ करोड १४ लाख ३७ हजार रुपैयाँको खुद नोक्सानीको अवस्थामा थियो ।
गत वर्षसम्म लघुवित्तको तत्कालिन सञ्चालक समिति र व्यवस्थापनले अनावश्यक रुपमा कर्मचारी लगायतमा करोडौं रुपैयाँ खर्च गर्दा लघुवित्त घाटामा गएको थियो । नयाँ सञ्चालक समिति र नयाँ व्यवस्थापनले अनावश्यक खर्चलाई कटौती गर्दै उही आँकडाको व्यापारबाट लघुवित्तलाई नाफामा लगेको हो ।
गत आर्थिक वर्षको यसै अवधिमा ६५ करोड ३७ लाख रुपैयाँ व्याज आम्दानी गरी ४६ करोड ८० लाख रुपैयाँ व्याज खर्च गरेको लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६४ करोड २१ लाख व्याज आम्दानी गरेर ३८ करोड २० लाख रुपैयाँ व्याज खर्च गरेको छ ।
त्यसैगरी गत आर्थिक वर्षको यसै अवधिमा २१ लाख रुपैयाँ पि तथा कमिशन शुल्क आन्दानी गरी ५ लाख खर्च गरेको लघुवित्तले अहिले ५ करोड ४० लाख आम्दानी गरी अढाई लाख रुपैयाँ मात्र खर्च गरेको छ । अहिलेको सञ्चालक समिति र व्यवस्थापनले अनावश्यक खर्चमा कडाई गरेसँगै यस्तो आम्दानीमा सुधार आएको हो ।
उल्लेखित दुई शीर्षकमा मात्र गरिएको कडाईले लघुवित्तको गत आर्थिक वर्षको दोस्रो त्रैमासको १८ करोड ७३ लाख रुपैयाँको खुद व्याज, शुल्क तथा कमिशन आम्दानीको रकम अहिले बढेर ३१ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।
गत आर्थिक वर्षको यसै अवधिमा झण्डै ८ करोड रहेको अन्य सञ्चालन आम्दानी यस पटक १० लाख रुपैयाँमा सिमित भएको छ भने सम्भावित जोखिम वापतको इम्पेरिमेण्ट चार्जमा गत आर्थिक वर्षको पुसमा ४ करोड ६७ लाख रुपैयाँ छुट्याएको लघुवित्तले अहिले कर्जालाई सुक्ष्म तरिकाले वर्गीकरण गरेर १ करोड ५९ लाख रुपैयाँ मात्र छुट्याएको छ । माथिका शीर्षकमा गरेको कडाईले लघुवित्तको २२ करोड रुपैयाँको खुद सञ्चालन आम्दानी चालु आर्थिक वर्षको पुससम्ममा २९ करोड ८९ लाख रुपैयाँ कायम भएको छ ।
गत वर्षको यस अवधिमा ९०० जनाभन्दा बढी कर्मचारी रहेकोमा अहिले ति कर्मचारीको संख्या ७०० मा सिमित गरेको लघुवित्तले व्यक्तिगत खर्चको आकार २२ करोड ७५ लाख रुपैयाँबाट घटाएर २० करोड ६७ लाख बनाएको छ । समीक्षा अवधिमा अन्य सञ्चालन खर्च पनि ६ करोड २६ लाख रुपैयाँबाट ४ करोड ४५ लाख रुपैयाँमा झारेको छ ।
यसरी विगत वर्षका अनावश्यक खर्चलाई कटौती गर्दै लघुवित्तले गत वर्षकोभन्दा कम व्यापारबाट ८ करोड १४ लाख ३७ हजार रुपैयाँको नोक्सानीलाई ३ करोड ५३ लाख ४९ हजार रुपैयाँको खुद नाफामा पुर्याएको हो । लघुवित्तले गत वर्षको यसै अवधिको नोक्सानलाई नाफामा रुपान्तरण गर्दा झण्डै पौने १२ करोड रुपैयाँको वित्तीय सुधार गरेको हो ।
लघुवित्तको वितरणयोग्य मुनाफाको आकार ५ करोड ९८ लाख ४४ हजार रुपैयाँ रहने अवस्थामा लघुवित्तको विगत वर्षहरुको ५७ करोड ७१ लाख रुपैयाँको ऋणत्मक रिटेण्डमा समायोजन गर्दा सो रकम अझै ५१ करोड ७३ लाख रुपैयाँले ऋणात्मक देखिएको छ ।
११ रुपैयाँ २५ पैसा प्रतिसेयर आम्दानी रहेको लघुवित्तको चुक्ता पुँजी ६२ करोड ८३ लाख ५७ हजार ३३७ रुपैयाँ छ । त्यसैगरी जगेडा कोषमा ६४ करोड २३ लाख ६८ हजार रुपैयाँ रहेको लघुवित्तको प्रतिसेयर नेटवर्थ ११९ रुपैयाँ ९० पैसा छ । प्रतिसेयर कुल सम्पत्तीको मूल्य २ हजार ४६ रुपैयाँ रहेको लघुवित्तको मूल्य आम्दानी अनुपात ८६.६६ गूणालै बढी छ ।
समीक्षा अवधिमा लघुवित्तले पुँजी कोष अनुपातलाई ८.०७ प्रतिशतबाट ४.७८ प्रतिशतमा झारेको छ भने खराब कर्जा ९.६३ प्रतिशतबाट बढेर १०.४८ प्रतिशत पुगेको छ । ८.६९ प्रतिशतको कोषको लागतलाई समीक्षा अवधिमा ७.६४ प्रतिशतमा झारेको लघुवित्तको आधार दर १३.७० प्रतिशतबाट १२.९९ प्रतिशतमा झरेको छ ।












प्रतिक्रिया