महिला लघुवित्तको पौने चार लाख कित्ता शेयरका लागि साढे चौध लाखले गरे आवेदन


दोस्रो बजार निरन्तर उकालो लागिरहेका बेला प्राथमिक बजारको आकर्षण पनि उत्तिकै बढ्दो अवस्थामा छ । यस क्रममा मंगलबार निष्काशन बन्द भएको महलिा लघुवित्तको साधारण शेयरमा झण्डै १५ लाख जनाले आवेदन गरेका छन् ।

मंगलबार साँझ ५ बजेसम्मको तथ्यांक अनुसार लघुवित्तको शेयरमा मेरो शेयरबाट मात्र १४ लाख ४४ हजार ५८८ जनाले आवेदन दिएका छन् । उल्लेखित आवेदकहरुबाट २ अर्ब २४ करोड ८२ लाख ७२ हजार रुपैंयाको शेयर आवेदन परेको छ । जबकी सर्वसाधारण, कर्मचारी र सामुहिक लगानी कोषका लागि लघुवित्तले ४ लाख कित्ता मात्र शेयर छुट्याएको हो । यसमा पनि लघुवित्तका कर्मचारीलाई ५ हजार कित्ता र सामुहिक लगानी कोषहरुलाई २० हजार कित्ता शेयर छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरिएको हो ।

आस्वा प्रणालीबाट परेका आवेदन समेत गर्दा लघुवित्तको शेयरमा आवेदन गर्नेको संख्या भने १५ लाख हाराहारी पुग्ने देखिन्छ ।

यस आधारमा लघुवित्तको १० कित्ता शेयर पाउने शेयरधनीको संख्या ३७ हजार ५०० मात्र हुनेछ भने १४ लाखभन्दा बढी आवेदकले शेयर पाउने छैनन् ।

१० करोड रुपैयाँ जारी पूँजी रहेको लघुवित्तले धितोपत्र बोर्डबाट माघ ८ गते ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको हो । हाल कम्पनीको चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपछि कम्पनीको चुक्ता पूँजी १० करोड रुपैयाँ पुग्नेछ।

कम्पनीको आईपीओ निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग रहेको छ ।

महिला लघुवित्त वित्तीय संस्थाका रजिष्टर्ड कार्यालय काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १३, साँगामा रहेको छ । यसले २०७५ असोज २२ गते वित्तीय संस्थाको रूपमा वित्तीय कारोबार गर्न नेपाल राष्ट्र बैंकबाट इजाजत पाएको थियो भने औपचारिक रुपमा २०७५ कात्तिक १ गतेदेखि कारोबार सुरु गरेको थियो।

हाल यस लघुवित्तले २९ जिल्लाहरुमा ५३ वटा शाखा कार्यालय र ५ वटा सुपरीवेक्षण तथा निरीक्षण कार्यालयहरु स्थापना गरी कारोबार गर्दै आइरहेको छ । चालु आर्थिक वर्षको अन्त्यसम्म महिलाले ७ करोड १६ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाउने प्रक्षेपण गरेको छ । यस्तै, आव २०७८/७९ मा १२ करोड ४२ लाख ६४ हजार रुपैयाँ र आव २०७९/८० मा १९ करोड ७० लाख ९३ हजार रुपैयाँ नाफा कमाउने अनुमान छ ।

लघुवित्तले चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिशेयर आम्दानी ५१ रुपैयाँ २३ पैसा तथा प्रतिशेयर नेटवर्थ २९४ रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।