राप्रपाका समानुपातिक उम्मेदवार बुढाथोकीको स्वघोषणा: आर्थिक सुधार ३.० र समावेशी एजेन्डा


काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का समानुपातिक सांसद उम्मेदवार गजेन्द्रसिंह बुढाथोकीले आफ्नो स्वघोषणापत्र सार्वजनिक गरेका छन् ।

उनले व्यवस्थापिकालाई राज्यको सबैभन्दा प्रभावकारी अंगका रूपमा उल्लेख गर्दै समन्यायिक तथा समतामूलक आर्थिक विकास, अपाङ्गता सचेतना र सुसंस्कृत मिडिया उद्यम विकासलाई आफ्नो मुख्य एजेन्डा बनाएको जानकारी दिएका छन् ।

बुढाथोकीले फ्रान्सेली दार्शनिक ब्यारन दे मन्टेस्क्युद्वारा प्रतिपादित शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका तीन अंग व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका स्वतन्त्र र प्रभावकारी रूपमा सञ्चालन भए मात्र मुलुकको विकास सम्भव हुने उल्लेख गरेका छन् । नेपालमा लामो समयदेखिको राजनीतिक अस्थिरता र राज्यका अंगहरूबीचको प्रभावकारी समन्वय अभावका कारण नागरिक अपेक्षा पूरा हुन नसकेको उनको भनाइ छ ।

तीन दशक लामो आर्थिक पत्रकारिताको अनुभव, अपाङ्गता अधिकार तथा सामाजिक रुपान्तरण अभियन्ताका रूपमा निरन्तर सक्रियता र सचेत नागरिकको हैसियतका आधारमा आफू संसदीय दौडमा होमिएको उनले बताएका छन् ।

राप्रपाले सार्वजनिक गरेको संकल्पपत्रलाई आधार मानेर अगाडि बढेको बताउँदै उनले पार्टीका निर्देशन मण्डलका अध्यक्ष तथा पूर्वअर्थमन्त्री प्रकाशचन्द्र लोहोनीले २०४२ सालमा सुरु गरेको आर्थिक उदारीकरणको पहिलो चरणलाई नयाँ पुस्ताबाट ‘आर्थिक सुधार ३.०’ का रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

राप्रपाले ‘संवर्धनवाद’ को अवधारणासहित आर्थिक सुधार ३.० को रोडम्याप अघि सारेको जनाउँदै उनले सनातन धर्म, संस्कृति र परम्पराको संरक्षण गर्दै राष्ट्र निर्माण गर्ने पार्टीको मूल ध्येय रहेको बताएका छन् । ऊर्जा क्षेत्रलाई प्राथमिकतामा राख्दै आगामी १० वर्षभित्र २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित ‘ऊर्जा उत्पादन दशक’ घोषणा गरिएको जनाउँदै उनले संसद र सरकारमा बलियो उपस्थिति बनाएर राष्ट्र निर्माणको अधुरो सपना पूरा गर्ने दाबी गरेका छन् ।

बुढाथोकीले संसदमा पुगेपछि अर्थतन्त्र, बजेट प्रणाली, लघु तथा साना उद्योग, भूमिहीन किसान, विपन्न तथा तल्लो मध्यम वर्ग र निजी क्षेत्रका मुद्दा सशक्त रूपमा उठाउने प्रतिबद्धता जनाएका छन् । साथै अपाङ्गता भएका नागरिक, अल्पसङ्ख्यक तथा अवसरबाट वञ्चित समुदायको हकहितका लागि आवाज बुलन्द गर्ने बताएका छन् ।

उनले फागुन २१ गते हुने निर्वाचनमा राप्रपाको चुनाव चिह्न ‘हलो’ मा मतदान गरी आफूलाई संसदमा प्रश्न गर्ने नैतिक तथा कानुनी हैसियत प्रदान गर्न मतदातासँग अपिल गरेका छन् । विस्तृत एजेन्डा अध्ययन गरी रचनात्मक सुझाव दिन पनि उनले आग्रह गरेका छन् ।

प्रकाशित मिति: १० फाल्गुन २०८२, आइतबार  १६ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।