कुमारी ईक्विटी फण्डका इकाई फागुन १४ गतेदेखि निष्काशन हुँदै, ‘नेट एसेट भ्यालु’ साढे २२ पुग्ने प्रक्षेपण


कुमारी बैंकले प्रवद्र्धन गरेको कुमारी ईक्विटी फण्डका इकाईहरु फागुन १४ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुल्ला हुने भएको छ । कुमारी क्यापिटलको व्यवस्थापनमा १० वर्षे बन्दमुखी योजनाको ८० करोड रुपैंया बराबरको ८ करोड ईकाई मध्ये १५ प्रतिशत अर्थात १ करोड २० लाख ईकाई कुमारी बैंकलाई सुरक्षित गरी बाँकी ईकाईहरु सर्वसाधारणमा निष्काशन हुन लागेको हो । प्रतिईकाई १० रुपैंयाको अंकित मूल्यमा सर्वसाधारणमा बिक्री गर्न लागिएको हो ।

राजधानीमा एक कार्यक्रमको आयोजना गरी कुमारी क्यापिटलले इकाईका लगानीकर्तालाई आकर्षक प्रतिफल बितरण गर्ने योजना अन्तरगत फण्ड सञ्चालन गर्न लागिएको जनाएको छ । १० वर्ष अवधिको फण्ड सुपरिवेक्षणका लागि ५ जनाको टीम तयार पारिएको क्यापिटलले जनाएको छ ।

ईकाई बिक्रीबाट संकलन हुने रकम दक्षतापुर्वक तोकिएका क्षेत्रहरुमा लगानी गर्दै उच्चतम प्रतिफलको आधार तयार पारिने क्यापिटलले जनाएको छ । यस क्रममा सम्भावित जोखिमको उच्च मुल्याङ्कन गर्दै लगानीकर्ताको प्रतिफल क्षमतालाई बढाउँदै लैजाने बताइएको छ ।

पहिलो वर्ष १० रुपैंयाको दरमा सुरु हुने एसेट भ्यालु अन्तिम वर्षमा २२ रुपैंया ४९ पैसा पुग्ने प्रक्षेपण गरिएको छ भने लाभांश र पूँजीवृद्धि समेत गरी औषत प्रतिफल २२ प्रतिशत कायम हुने अनुमान गरिएको छ ।
फागुन १४ गतेदेखि निष्काशन हुने ईकाईमा लगानी गर्नका लागि मेरो शेयर अनलाइन सफ्टवेयरका साथै आस्वा सदस्य बैंक वित्तीय संस्थाबाट आइपिओ जसरी नै ईकाईमा आवेदन गर्न सकिन्छ । कम्तीमा १०० ईकाईदेखि अधिकतममा निष्काशन भएको सबै इकाईका लागि आवेदन दिन सकिनेछ ।

अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।