ग्लोबल आइएमई बैंकको विशेष साधारण सभाले पारित गर्यो हाथवे फाइनान्स प्रप्ती गर्ने प्रस्ताव


ग्लोबल आइएमई बैंकको विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने विशेष प्रस्ताव पारित गरेको छ । बैंकको मंगलबार सम्पन्न विषेश साधासणसभाले हागवे फाइनान्सलाई प्रति कित्ता ४२ रुपैयाँका दरले खरिद गर्ने प्रस्ताव पारित गरेको हो ।

विशेष साधारण सभाले हाथवे फाइनान्स कम्पनीलाई प्राप्ति गर्ने सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्दै कम्पनी प्राप्ति गर्न अन्तिम स्वीकृति प्रदान गरेको छ ।

त्यस्तै साधारण सभाले प्राप्ति प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त सम्पत्ति, दायित्व तथा कारोबार मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात स्वीकृत गरेको छ । प्रतिवेदन अनुसार हाथवे फाइनान्स कम्पनीको १०० कित्ता शेयरलाई ग्लोबल आइएमई बैंकको ४२ कित्ता शेयर प्रदान गर्ने गरी शेयर स्वाप अनुपात स्वीकृत गरेको हो ।

विशेष साधारण सभामा बोल्दै ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आइएमईले बैंकको शाखा सञ्जाल र पूँजीगत आधार समेत सुदृढ गरी प्रतिस्पर्धी क्षमताको विकास गर्दै गुणस्तरीय सेवा प्रदान गर्नको लागि प्राप्तिमा गएको बताए । नेपाल सरकारले ल्याएको ठूला बैंकहरुलाई मर्जर गरी देशको अर्थतन्त्रलाई मजबुद बनाउने नीतिलाई सफल पार्नु बैंकको कर्तव्य रहेको उनले बताए । बैंक मर्जरमा जाँदा बैंकका शेयरधनी तथा आम ग्राहकको हितलाई केन्द्रमा राखिएको समेत जानकारी उनले दिए ।

हाथवे फाइनान्सको प्राप्ति पछि ग्लोबल आइएमई बैंकको चुक्ता पूँजी १० अर्ब ४३ करोड ६५ लाख रुपैयाँ पुग्नेछ । यसका अतिरिक्त बैंकको शाखा सञ्जाल १४१, कूल निक्षेप रु. १२५ अर्ब भन्दा बढी, कूल कर्जा रु. ११४ अर्ब भन्दा बढी पुग्नेछ भने ग्राहक संख्या करिब ११ लाख पुग्नेछ ।

यस अघि ग्लोबल आइएमई बैंकले जनता बैंक नेपालसँग मर्जर सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरी मर्जर प्रकृया अगाडि बढाएको छ ।