काठमाडौँ । चालु आर्थिक वर्षको सात महिना (साउन–पुस) मा नेपालले इरानसँग ८० लाख बढीको वैदेशिक व्यापार गरेको छ । भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा नेपाल र इरानबीच ८० लाख २१ हजार रुपैयाँ बराबरको द्विपक्षीय वैदेशिक व्यापार भएको छ ।
यसमध्ये नेपालले इरानबाट ७३ लाख ५६ हजार रुपैयाँबराबरको आयात गरेको छ । यस्तै ६ लाख ६५ हजार रुपैयाँबराबरका विभिन्न सामान इरानमा निर्यात गरिएको छ । समीक्षा अवधिमा इरानसँगको व्यापारमा मुलुकले ६६ लाख ९१ ह्जार रुपैयाँ घाटा व्यहोरेको छ ।
यस्तै, गत आर्थिक वर्ष २०८१/८२ मा नेपालले इरानसँग ६७ लाख ९८ हजार रुपैयाँबराबरको द्विपक्षीय वैदेशिक व्यापार गरेको थियो । जसमा इरानबाट १३ लाख ८१ हजार रुपैयाँ बराबरको वस्तु तथा सामान आयात र नेपालबाट ५४ लाख १७ हजार रुपैयाँबराबरको वस्तु तथा सामान निर्यात भएको थियो । उक्त वर्ष नेपालले इरानबाट आयात भन्दा निर्यात बढी गर्दा ४० लाख ३५ हजार रुपैयाँ नाफा गरेको छ ।
इरानबाट खजुरदेखि बहुमुल्य धातुसम्म आयात
इरानबाट नेपालमा खजुरदेखि बहुमुल्य धातुसम्म आयात हुने गरेको भन्सार विभागको तथ्यांकमा उल्लेख गरिएको छ ।
चालु आर्थिक वर्षमा नेपालले इरानबाट २६ लाख १८ हजार रुपैयाँबराबरको २ हजार ८७५ किलो खजुर आयात गरेको छ । त्यसैगरी, २ लाख ३६ हजार रुपैयाँबराबरको अलकोहल युक्त ह्विस्की र ३ हजार रुपैयाँ बराबरको बहुमुल्य धातु आयात गरेको छ ।
यो अवधिमा नेपालले इरानतर्फ १ लाख ५४ हजार रुपैयाँबराबरको एक हजार १३ वटा वाद्यवाधनका साधनहरु (ड्रम, झ्याली लगायत अन्य) निर्यात गरेको छ । त्यस्तै, ५ लाख ११ हजार रुपैयाको ३ हजार ७७८ वटा महिलाहरुको लगाउने कपडा निर्यात भएको तथ्यांकले उल्लेख गरिएको छ ।












प्रतिक्रिया