बक्स अफिसमा ‘आबाट आमा’ को राज, चुनावी माहोलमा अन्य कुनले कमाए कति ?


काठमाडौँ । गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले एक महिनामा १२ करोड २३ लाख ३८ हजार रुपैयाँ कलेक्सन गरेको छ । यो अवधिमा चलचित्रको ४ लाख ६१ हजार ५७२ वटा टिकट बिक्री भएका छन् । चन्द्र पन्तद्वारा निर्देशित सामाजिक कथामा निर्माण भएको चलचित्रले आमा र परिवारको कथा समेटेको छ ।

चलचित्रमा प्रेमकथा पनि समावेश गरिएको छ । सो चलचित्रमा विपना थापा, पल शाह, भारतीय अभिनेता प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट, बेगम नेपाली लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।

पछिल्लो समय चुनावी चहलपहल बढ्दा चलचित्रको व्यापार सुस्ताएको छ । हलहरुमा प्रर्दशन सुरु भएका चलचित्रहरु हेर्न टिकट खासै बिक्री भइरहेका छैनन् । तर चलचित्र ‘आबाट आमा’ले सुखद व्यापार गरिरहेको चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसको तथ्यांकले प्रष्ट पारेको छ ।

त्यसैगरी, कमाइको हिसाबले दोस्रो स्थानमा चलचित्र ‘कुमारी’ रहेको छ । माघ २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्रले हालसम्म १९ हजार ९५९ वटा टिकटबाट ६४ लाख ४८ हजार रुपैयाँ कलेक्सन गरेको छ । प्रेम कथामा आधारित चलचित्रलाई निर्देशनमा अब्बल मानिने निर्देशक दिनेश राउतले निर्देशन गरेका हुन् । यो चलचित्रबाट अबिषेक खड्का र आकृति राजभण्डारीले मुख्य भुमिकामा डेब्यु गरेका छन् । चलचित्रमा प्रेम, मानवीय संघर्ष र पारिवारिक अन्तद्र्वन्द्वको कथालाई कलात्मक ढंगले चित्रण गरिएको छ ।

त्यसैगरी, माघ २३ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘रमिताको पिरती’ले ८ हजार ७३७ टिकटबाट २८ लाख ६८ हजार रुपैयाँ आम्दानी गरेको छ । सुदिप्ताको निर्देशनमा बनेको चलचित्र ‘रमिताको पिरती’ प्रेम सम्बन्धमा आधारित चलचित्रमा युवतिको ‘ब्रेकअप’ पछिको दृष्टिकोणबाट चलचित्र प्रस्तुत गर्न खोजिएको छ ।

त्यस्तै, चलचित्र बिगुलले २ हजार ७२२ वटा टिकट बिक्री गर्दै हालसम्म ९ लाख २८ हजार रुपैयाँ कमाइ गरेको छ । फागुन १ गतेबाट प्रदर्शनमा आएको यो चलचित्र राजनीतिक विषयवस्तुमा आधारित छ ।
रमेश कोइराला निर्देशित चलचित्रमा नीर शाह, रमेश बुढाथोकी, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतको अभिनय छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०८२, मंगलबार  ११ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।