काठमाडौँ । बिहीबार हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो मताधिकारको प्रयोग गर्नको लागि १२ लाख जनाले उपत्यका छाड्ने देखिएको छ । सार्वजनिक यातायात व्यवसायी राष्ट्रिय महासंघका अनुसार आमनिर्वाचनको मिति नजिकिएसँगै गाउँ फर्किने मतदाताहरुको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

महासंघका महासचिव भरत नेपालका अनुसार निर्वाचनको अघिल्लो दिन बुधबारसम्म करिब १२ लाख बढी मतदाताहरुले उपत्यका छाड्ने अनुमान गरिएको छ । “सामान्य अवस्थाको तुलनामा अहिले यात्रुको चाप करिब ५० प्रतिशतले बढेको छ,” नेपालले भने, “विगत ४, ५ दिनदेखि यात्रुको चाप एकदम बढेकोमा यो क्रम बुधबारसम्म जारी रहने देखिएको छ ।” 
यात्रुहरुको चापलाई मध्यनजर गर्दै यातायात व्यवसायीहरुले अतिरिक्त गाडीहरु थपेको उनले बताए । धेरैजासो गाडीहरु अग्रिम बुकिङ भइसकेका छन् भने कतिपय राजनीति दल र उम्मेदवारहरुले आफ्नो क्षेत्रका मतदाता लैजान टुलो संख्यामा गाडीहरु रिजर्भ समेत गरेका उनले जानकारी दिए ।

मतदानको दिन नजिकिएसँगै उपत्यका विस्तारै सुनसान देखिन थालेको छ भने गाउँघरमा चहलपहल बढ्न थालेको छ । दसैं तिहार पछिको यो समयमा सबैभन्दा बढी यात्रुले उपत्यका छोडेको यातायात व्यवसायीहरू बताउँछन् । महासचिव नेपालले भने, “दशैं तिहारको समयमा १६ लाखले उपत्यका छोडेका थिए भने अहिले पनि १२ लाख जतिले उपत्यका छाड्ने देखिएको छ ।”
यातायात व्यवसायीहरुले यात्रुहरूलाई सुरक्षित गन्तव्य सम्म पु¥याउनको लागि ट्राफिक प्रहरी र सुरक्षा निकायसँग समन्वय गरिरहेका छन् । “हामीले लामो दुरीको गाडीमा दुईओटा चालक राख्न, समय लिएर गाडी चलाउन, गाडी चलाउँदा फोन प्रयोग नगर्न सबै यातायात व्यवसायी र चालकहरुलाई निर्देशन दिएका छौँ,” उनले भने, “यसका साथै लामो दुरीमा चल्ने गाडीहरुलाई सडकको विषयको जानकारी लिएर मात्र गाडी चलाउन सर्कुलर गरेका छौँ ।

फागुन २१ गते बिहीबार हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले फागुन २० गते( भोली) राति १२ बजेदेखि फागुन २१ गते साँझ ५ बजेसम्म अत्यावश्यक बाहेकका सबै सार्वजनिक तथा निजी सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
आयोगका अनुसार यो अवधिमा एम्बुलेन्स, दमकल, शव वाहन, रक्तसञ्चार सेवा, सुरक्षा निकायका सवारी, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी साधन भने निर्बाध रूपमा सञ्चालन गर्न पाइनेछ । अन्य सवारी साधन भने आयोगबाट पास प्राप्त गरेपछि मात्रै चलाउन पाइने व्यवस्था गरिएको छ । निर्वाचनको दिन शान्ति, सुरक्षा र सुव्यवस्था कायम राख्न यस्तो निर्णय गरिएको आयोगले जनाएको छ ।

सरकार र निर्वाचन आयोगको निर्देशन अनुसार यातायात व्यवसायीहरुले यात्रु ओसार्ने काम गरिरहेका छन् । “सरकार र निर्वाचन आयोगले दिएको निर्देशन अनुसार नै हामीहरुले सवारी साधनहरु सञ्चालन गरिरहेका छौँ,” महासचिव नेपालले भने । हाल मतदाता र सर्वसाधारणको सहजताका लागि सबै क्षेत्रमा सवारीहरू पु¥याउने व्यवस्था मिलाइएको समेत उनले जानकारी दिए ।












प्रतिक्रिया