काठमाडौँ उपत्यकामा रास्वपाको ’क्लिन स्वीप’, हालसम्म देशभर ४० स्थानमा विजयी (अपडेट)


काठमाडौँ । मुलुकमा जारी प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उत्साहजनक नतिजा हासिल गरिरहेको छ । पछिल्लो विवरणअनुसार रास्वपाले देशभर ४० निर्वाचन क्षेत्रमा जित हासिल गरिसकेको छ भने धेरै स्थानमा अग्रता कायम राखेको छ ।

उपत्यकामा रास्वपाको दबदबा
रास्वपाले काठमाडौँ उपत्यकाका सबै १५ वटा निर्वाचन क्षेत्रमा क्लिन स्वीप गर्ने देखिएको छ । काठमाडौँका १०, भक्तपुरका २ र ललितपुरका १ निर्वाचन क्षेत्रमा रास्वपा उम्मेदवार विजयी हुँदा ललितपुरका २ वटामा रास्वपाका उम्मेदवारहरू फराकिलो मतान्तरले अगाडि छन् ।
काठमाडौँका विजयी उम्मेदवारहरूः
क्षेत्र नं. १ः रन्जु दर्शना
क्षेत्र नं. २ः सुनील केसी
क्षेत्र नं. ३ः राजुनाथ पाण्डे
क्षेत्र नं. ४ः पुकार बम
क्षेत्र नं. ५ः सुस्मित पोखरेल
क्षेत्र नं. ६ः शिशिर खनाल
क्षेत्र नं. ७ः गणेश पराजुली
क्षेत्र नं. ८ः विराज भक्त श्रेष्ठ
क्षेत्र नं. ९ः डोलप्रसाद (डीपी) अर्याल
क्षेत्र नं. १०ः प्रदीप विष्ट

त्यस्तै, भक्तपुर क्षेत्र नं. १ मा रुकेश रञ्जित र क्षेत्र नं. २ मा राजीव खत्री विजयी भएका छन् ।

ललितपुर क्षेत्र नं. १ मा बुद्धरत्न महर्जन विजयी भएका छन् । ललिपुर २ मा जगदीश खरेल करिब १२ हजार मतान्तरले र क्षेत्र नम्बर ३ मा तोसीमा कार्की २८ हजार ३१५ मतान्तरले अगाडि छन् ।

देशभरका अन्य क्षेत्रको नतिजा

उपत्यका बाहिर पनि रास्वपाले प्रभावशाली जित निकालेको छ । चितवन क्षेत्र नं. २ बाट सभापति रवि लामिछाने भारी मतले विजयी भएका छन् ।

रुपन्देहीः सुलभ खरेल (क्षेत्र २), लेखजंग थापा (क्षेत्र ३), कन्हैया बानिया (क्षेत्र ४)

कास्कीः उत्तमप्रसाद पौडेल (क्षेत्र २) बीना गुरुङ (क्षेत्र ३)

मोरङः रुविना आचार्य (क्षेत्र ६), सन्तोष राजवंशी (क्षेत्र ४)

बाराः रहबर अन्सारी (क्षेत्र ४), अरविन्द साह (क्षेत्र ३)

पर्साः सुशीलकुमार कानु (क्षेत्र २), बुद्धिप्रसाद पन्त (क्षेत्र १)

बाँकेः सुरेशकुमार चौधरी (क्षेत्र १), खगेन्द्र सुनार (क्षेत्र ३)

बागलुङः सुशील खड्का (क्षेत्र १), सोम शर्मा (क्षेत्र २)

यसबाहेक धनुषा ३ बाट मनिष झा, महोत्तरी १ बाट प्रमोदकुमार महतो, नुवाकोट २ बाट अच्युतम् लामिछाने, स्याङ्जा १ बाट धनन्जय रेग्मी, पर्वत १ बाट सागर भुसाल, कैलाली १ बाट कोमल ज्ञवाली, गुल्मी २ बाट गोविन्द पन्थी, सिन्धुली २ बाट आशिष गजुरेल, तनुहँ १ बाट स्वर्णीम वाग्ले र दाङ २ बाट विपिनकुमार आचार्य विजयी भएका छन् ।

तोडीयो इतिहास सबैभन्दा बढी मतान्तर जित्ने उम्मेदवार बने लेखजंग

रास्वपा उम्मेदवार लेखजंग थापा सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेदवार बनेका छन् । रुपन्देही क्षेत्र नम्बर ३ बाट उनी ५८ हजार ८९४ मत सहित निर्वाचित हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङले ८ हजार ४३५ मत मात्र प्राप्त गरेका छन् । उनीहरुबिचको मतान्तर ५० हजार ४५९ रहेको छ । यसअघि सबैभन्दा बढी मतान्तरले जित्ने उम्मेवारको रेकर्ड रवि लामिछानेको नाममा थियो ।

२०८० को उपनिर्वाचनमा रवि लामिछाने चितवन २ बाट ४८ हजार ९६३ मतान्तरले विजयी भएका थिए । यस्तै २०७९ को निर्वाचनमा झापा क्षेत्र नम्बर ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओली २८ हजार ५७६ मतान्तरले विजयी भएका थिए । २०७४ को निर्वाचनमा पनि ओली २८ हजार ८४२ मतान्तरले विजयी भएका थिए । २०६४ को पहिलो संविधान सभा निर्वाचन गोरखा २ बाट बाबुराम भट्टराई ४० हजार १०१ मतान्तरले विजयी भएका थिए ।

अन्य दलको अवस्था र अग्रता
निर्वाचन आयोगका अनुसार मतगणना भइरहेका क्षेत्रमध्ये रास्वपा ७९ स्थानमा अगाडि देखिएको छ ।

अन्य दलतर्फ नेपाली कांग्रेस ६ स्थानमा विजयी भई ९ स्थानमा अगाडि छ । नेकपा (एमाले) २ स्थानमा विजयी भई ९ स्थानमा र नेकपा २ स्थानमा विजयी भई ८ स्थानमा अग्रता कायम गरेका छन् ।

त्यस्तै, श्रम संस्कृति पार्टी ४ स्थानमा अगाडि छ भने स्वतन्त्र उम्मेदवार महावीर पुन एक स्थानमा विजयी भएका छन् ।

समानुपातिकतर्फ पनि रास्वपाकै अग्रता देखिएको छ ।

समानुपातिकतर्फ हालसम्म गणना भएको १ लाख १२ हजार १२४ मतमध्ये रास्वपा ६१ हजार ८६७ मतका साथ शीर्ष स्थानमा छ । दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १९ हजार ३५८, एमालेले ११ हजार ४५७ र राप्रपाले ६ हजार ६५५ मत प्राप्त गरेका छन् । नेपाल मजदुर किसान पार्टीले ८६९ मत प्राप्त गरेको छ ।

अझै धेरै क्षेत्रको अन्तिम नतिजा आउन बाँकी रहेकाले रास्वपाको सिट सङ्ख्या अझै बढ्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।