पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक


झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् ।

अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् ।

उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए।

सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छ भने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् ।

गत आर्थिक वर्ष २०८१/८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।

प्रकाशित मिति: २ चैत्र २०८२, सोमबार  ०६ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।