काठमाडौँ । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले अवकाश कोषमा लाग्दै आएको दोहोरो कर हटाउन आवश्यक रहेको बताएका छन् । नागरिक लगानी कोषको ३६औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान गर्न नसकेको स्वीकार गरे ।
उनले भने, ‘ठूलो करको भार नेपाली करदाताले भोगिरहेका छन्, यसमा नीतिगत सुधार अपरिहार्य छ,’ उनले भने ।
खनालले नागरिक लगानी कोषको स्थापना तत्कालीन अन्तरिम सरकारको अवधिमा भएको स्मरण गर्दै त्यतिबेला स्थापना भएका धेरै वित्तीय संस्थाहरू समयसँगै कमजोर वा विलय भए पनि कोष भने सुदृढ रूपमा अघि बढ्दै ३६औं वर्षसम्म आइपुगेको बताए । उनले कृषि विकास बैंक लाई पटक–पटक उद्धार गर्नुपरेको प्रसंग उल्लेख गर्दै अहिले मात्र केही सुधारको अवस्थामा पुगेको बताए ।
यस्तै, अर्थमन्त्री खनालले आउँदो हप्ता नयाँ सरकार बन्नसक्ने बताएका छन् । सामानुपातिक सांसदहरुलाई निर्वाचन आयोगले प्रमाणपत्र वितरण गरेपछि संविधान अनुसार नयाँ सरकार तीव्र गतिमा अघि बढ्ने उनले जानकारी दिए । आफुले पनि अब विश्राम लिने बेला भएको उनले बताए ।
अर्थमन्त्री खनालले शक्तिशाली बहुमतसहित आएको सरकारले बाह्य क्षेत्रबाट उत्पन्न चुनौती सामना गर्दै समष्टिगत आर्थिक परिसूचकमा देखिन गएको संकेत अनुसार काम गर्न सकोस् भनेर सदभाव व्यक्त गरे ।
यता, नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले हाल कोषको करिब ५० प्रतिशत लगानी बैंकको मुद्दती निक्षेपमा रहेको र २२ प्रतिशत रकम कर्मचारीलाई कर्जाका रूपमा प्रवाह गरिएको र टे«जरी बिल र इक्विटी सेयरमा ९ देखि १० प्रतिशतसम्म लगानी रहेको बताए । उनले अब विभिन्न जलविद्युत् परियोजना रउत्पादनशील क्षेत्रमा लगानी विस्तार गर्ने रणनीति अपनाइएको बताए ।
उद्यमशीलता विकासलाई प्रवद्र्धन गर्न निजी इक्विटी (प्राइभेट इक्विटी) क्षेत्रमा समेत लगानी गर्ने तयारी भइरहेको उनको भनाइ छ । साथै, कोषले आफ्ना दैनिक कार्यलाई डिजिटलमैत्री बनाउँदै सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाइरहेको पनि उनले जानकारी दिए ।
यस्तै, कार्कीले दोहोरो कर लाग्ने व्यवस्थाले सहभागीलाई अतिरिक्त भार परेको भन्दै यसको सहजीकरण गर्न अपरिहार्य भएको उल्लेख गरेका छन् । हाल कोषले सातवटा योजना सञ्चालन गर्दै करिब ३ सय अर्ब रुपैयाँ बराबरको कोष परिचालन र करिब ७ लाख सहभागी आबद्ध रहेको बताएका छन् । उनका अनसार कोषले ६ अर्ब ८० करोड रुपैयाँ पूँजी संकलन भएको बताए ।












प्रतिक्रिया