काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनमा ५१ हजार १ सय ९२ टन ग्यास नेपाल भित्रिएको छ, जुन पछिल्लो तीन महिनाकै उच्च आयात हो । चालु आवकाे फागुन मसान्तसम्म कुल ३ लाख ७२ हजार २ सय ८२ टन ग्यास आयात भएको छ ।
यो गत वर्ष सोही अवधिको तुलनामा १० हजार १ सय ८७ टन बढी हो । गत वर्ष फागुन मसान्तसम्म कुल ३ लाख ६२ हजार ९५ टन ग्यास भित्रिएको थियो ।
यसअघि माघमा ४६ हजार २ सय ८५ टन र पुसमा ४७ हजार ४ सय ६० टन आयात भएको थियो । जाडो महिनामा यो समयमा मासिक माग करिब ४९ हजार ५ सय टन लाग्ने गर्छ । तर, चालु आव पुस र माघमा बजार मागभन्दा कम ग्यास भित्रिएको ग्यास अभाव देखिएको हो ।
यता, मध्यपूर्व तनावका कारण ग्यासको मूल्य बढ्ने हल्लाले पनि व्यापारीले बढी फाइदाको लागि ग्यास लुकाएकोले पनि ग्यास अभाव भएको हुन सके आयात निगमको बुझाई छ ।
गत आव २०८१/८२ को तुलनामा पनि यस वर्षका यी महिनामा ग्यास आयात अवस्था केही कमजोर देखिएको छ । गत वर्ष पुसमा ४७ हजार ६ सय ८३ टन आयात भएकोमा यस वर्ष सोही महिनामा २ सय २३ टन कम आएको छ ।
त्यसैगरी गत वर्ष माघमा ४८ हजार ८ सय ८४ टन ग्यास भित्रिएको थियो, जसको तुलनामा यस वर्ष माघमा २ हजार ५ सय ९९ टनले आयात खुम्चिएको देखिन्छ । गत वर्ष फागुनमा ४७ हजार ७ सय ५४ टन ग्यास आयात भएकोमा यस वर्ष सोही महिना ३ हजार ४ सय ३८ टन वृद्धि भई ५१ हजार १ सय ९२ टन भित्रिएको छ ।












प्रतिक्रिया