काठमाडौँ । चलचित्र ‘आबाट आमा’ को कमाइ १३ करोड रुपैयाँ नाघेको छ । चलचित्र विकास बोर्डले सार्वजनिक गरेको बक्स अफिस कलेक्सन अनुसार आबाट आमाले चैत ७ गते मध्यरातसम्ममा १३ करोड बढी आम्दानी गरेको हो ।
चलचित्र विकास बोर्ड अन्तर्गतको सिनेपा बक्स अफिसले चलचित्र आबाट आमा, कुमारी, रमिताको पिरती र लालीमाको बक्स अफिस कलेक्सन विबरण सार्वजनिक गरेको हो ।
बोर्डका अनुसार गत माघ १६ गतेदेखि प्रदर्शनमा आएको आबाट आमा चलचित्रले हालसम्म ५ लाख ३ हजार ११४ वटा टिकट बिक्रीबाट १३ करोड १० लाख ९२ हजार रुपैयाँ कलेक्सन गरेको हो । उक्त चलचित्र चन्द्र पन्तले निर्देशन गरेका हुन् ।
माघ २३ गतेदेखि प्रदर्शनमा आएको चलचित्र कुमारीले हालसम्म ६६ लाख २५ हजार रुपैयाँ कमाई गरेको छ । हालसम्म सो चलचित्रको २० हजार ८१७ वटा टिकट बिक्री भएका छन् । सो चलचित्रलाई दिनेश राउतले निर्देशन गरेका हुन् ।
त्यसैगरी, माघ २३ गतेबाट नै प्रदर्शनमा आएको चलचित्र ‘रमिताको पिरती’ले ९ हजार ९७५ टिकटबाट ३० लाख ८४ हजार रुपैयाँ आम्दानी गरेको छ । उक्त चलचित्र सुदिप्ताको निर्देशनमा बनेको हो ।
त्यस्तै, चलचित्र लालिमाले २ हजार ४० वटा टिकट बिक्री गर्दै हालसम्म ५ लाख २९ हजार रुपैयाँ कमाइ गरेको छ । फागुन २९ गतेबाट प्रदर्शनमा आएको उक्त चलचित्रलाई रोशन मिराजले निर्देशन गरेका हुन् ।












प्रतिक्रिया