बेमौसमी वर्षाले रुपन्देहीका इँटा उद्योगमा करोडौँको क्षति


सिद्धार्थनगर । बेमौसमी वर्षासँगै आएको हावाहुरीका कारण रूपन्देहीका इँटा उद्योगमा करोडौँको आर्थिक क्षति भएको छ । पोल्न तयारी अवस्थामा राखिएका काँचो इँटा भिजेर नष्ट हुँदा उद्योगी समस्यामा परेका छन् ।

लुम्बिनी इँटा उद्योग व्यवसायी सङ्घका पूर्वअध्यक्ष अजयकुमार गुप्ताका अनुसार गत साताको वर्षाले जिल्लाभर उत्पादित काँचो इँटामा क्षति पुगेको हो । जिल्लामा हाल करिब ३० वटा इँटा उद्योग सञ्चालनमा रहेका लुम्बिनी उद्योग व्यवसायी सङ्घले जनाएको छ ।

“पछिल्लो समय कोइला र डिजेलजस्ता इन्धनको मूल्यवृद्धिले उत्पादन लागत बढिरहेको अवस्थामा वर्षाका कारण करोडौँ मूल्य बराबरको इँटा नष्ट हुँदा उद्योगी थप सङ्कटमा परेका छन्”, गुप्ताले भने । हरेक वर्ष दोहोरिने बेमौसमी वर्षाले उद्योग क्षेत्रलाई दीर्घकालीन असर पार्दै आएको उनको भनाइ छ ।

गणेश इँटा उद्योग रुपन्देहीका व्यवस्थापक गणेश रायमाझीले बेमौसमी वर्षाका कारण जिल्लामा करिब ३ करोडभन्दा बढी काँचो इँटा नष्ट भएको जानकारी दिए। “पोल्नका लागि तयारी अवस्थामा राखिएका काँचो इँटा पानीले भिजेर पूर्ण रूपमा नष्ट भएका छन्”, उनले भने ।

एउटा काँचो इँटाको मूल्य औसत ७ रुपैयाँ पर्ने भएकाले कुल क्षति करोडौँ रुपैयाँभन्दा माथि पुगेको रायमाझीले बताए। काँचो इँटाको बिमाको व्यवस्था नहुँदा उद्योगीले वर्षेनी ठूलो नोक्सानी व्यहोर्नु परेको उनले गुनासो गरे ।

उद्योगीले अन्य उत्पादन क्षेत्रसरह इँटा उद्योगलाई पनि बिमा प्रणालीभित्र समेट्ने नीति ल्याउन सरकारसँग माग गरेका छन् । मौसमजन्य जोखिम न्यूनीकरणका लागि दीर्घकालीन नीति आवश्यक रहेको उनीहरूको भनाइ छ । हिउँदसँगै सुरु हुने इँटा उत्पादन मौसमको अनियमितताले प्रभावित हुँदा यस क्षेत्रको समग्र लगानी र रोजगारीमा समेत असर पर्दै आएको छ ।

प्रकाशित मिति: १२ चैत्र २०८२, बिहिबार  १३ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।