सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको सामान निर्यात


पर्सा । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा ६६ अर्ब ४८ करोड रुपैयाँ बराबरका सामान निर्यात भएको छ ।

गत आवको सोही अवधिका तुलनामा चालु आवको सोही अवधिमा भने यो नाकाबाट नौ अर्ब ९४ करोड रुपैयाँ बढीको निर्यात भएको छ । गत आवको सात महिनामा भने ५६ अर्ब ५४ करोड रुपैयाँ बराबरका वस्तु तथा समान विदेशी मुलुक निर्यात भएको थियो । 

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले चालु आवमा यो नाका हुँदै हुने निर्यातमा सुधारोन्मुख रहेको बताए । चालु आवको सात महिनामा ३५ अर्ब ५८ करोड रुपैयाँ पर्ने भटमासको तेल प्रशोधित निर्यात भएको छ । 

चार अर्ब ९७ करोड रुपैयाँ पर्ने फलफूलको जस निर्यात भएको छ । चार अर्ब ५८ करोड रुपैयाँ पर्ने सूर्यमुखीको प्रशोधित तेल निर्यात भएको छ । तीन अर्ब ७७ करोड रुपैयाँ पर्ने प्रशोधित पाम तेल निर्यात भएको छ भने दुई अर्ब ३३ करोड रुपैयाँ पर्ने विभिन्न किसिमका कपडा निर्यात भएको छ । एक अर्ब ५८ करोड रुपैयाँ पर्ने सिन्थेटिक थार्न निर्यात भएको छ ।

चालु आवको पाँच महिनामा पाँच खर्ब ९५ अर्ब ४६ करोड रुपैयाँका वस्तु तथा सामान भित्रिएको छ । वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा ५८ अर्ब ९१ करोड रुपैयाँ अर्थात् ११ प्रतिशत बढी सामान भित्रिएको छ ।

गत आवको सात महिनामा भने पाँच अर्ब ३६ करोड ५५ करोड रुपैयाँ पर्ने वस्तु तथा सामान यो नाका हुँदै भित्रिएको थियो ।

प्रकाशित मिति: १५ चैत्र २०८२, आइतबार  १३ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।