बिचौलिया दिपक भट्ट अध्यागमन विभागको कालोसूचीमा, राहदानी रोक्का


काठमाडौँ । बिचौलियाको पहिचान बनाएका दिपक भट्टलाई अध्यागमन विभागले कालोसूचीमा राखेको छ । यसका साथै विभागले उनको राहदानी पनि रोक्का गरेको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको सिफारिसमा अध्यागमन विभागले भट्टलाई कालोसूचीमा राख्दै उनको राहदानी रोक्का गरेको हो । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टको सम्पत्तिका सम्बन्धमा अनुसन्धान गरिरहेको छ । सो अनुसन्धानका क्रममा भट्ट विदेश जान सक्ने भएकाले उनको राहदानी रोक्का गरिएको हो ।

गैरकानुनी सम्पत्ति आर्जन गरेको सम्बन्धमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले भट्टमाथि अनुसन्धान गरिरहेको छ । उनले गैरकानुनी रुपमा आर्जेको सम्पत्ति शुद्धीकरणका लागि बैंकिङ र बिमा सम्बन्धी कसुर, सार्वजनिक सम्पत्तिको हानी, राजस्व छलीजस्ता काम गरेको भेटिएसँगै भट्टमाथि अनुसन्धान तिव्र पारिएको हो ।

निर्वतमान अर्थमन्त्री रामेश्वर खनालको निर्देशन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका आधारमा विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धानलाई तिव्र बनाएको हो । यसक्रममा भट्टको बैंक खाता निगरानीदेखि सेयर रोक्कासम्मको काम थालिएको विभागले जनाएको छ ।

भट्टसँग सहकार्य गरेका पक्ष तथा व्यक्तिहरु माथि पनि विभागले अनुसन्धान थालेको छ । उनकी श्रीमती आयुष्मा नेपाल, सासु अन्जना नेपाल तथा शंकर गु्रपका शंकरलाल अग्रवाल, सुलभ, साहिल, शुभी अग्रवालमाथि पनि विभागले अनुसन्धान गरिरहेको छ ।

शंकास्पद कारोबारका आधारमा भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ मंसिरमै अनुसन्धान थालेको थियो । सो पश्चात् अनुसन्धान प्रकृया रोकिएकोमा अहिले राहदानी नै रोक्का गरेर अनुसन्धान तिव्र पारिएको हो ।

प्रकाशित मिति: १७ चैत्र २०८२, मंगलबार  १८ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।