वीरगन्ज । वीरगन्जनाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा २३ अर्ब ५७ करोड रुपैयाँका सवारीसाधन तथा पार्टपुर्जा भित्रिएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा मूल्यको आधारमा सवारीसाधन र पार्टपुर्जाको आयात ६ अर्ब ४२ करोड रुपैयाँले बढी हो ।
वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार चालु आवमा सवारीसाधन र पार्टपुर्जाको आयातमा वुद्धि भएको छ । भन्सार कार्यालयले चालु आवको सात महिनामा सवारीसाधन र पार्टपुर्जा आयातबाट मात्र १६ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । जबकि गत आवको सात महिनामा १७ अर्ब १५ करोड रुपैयाँका सवारीसाधन र पार्टपुर्जा आयात हुँदा १३ अर्ब २६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
चालु आवको सात महिनामा १ अर्ब १६ करोड १३ लाख रुपैयाँका ६ सय ९ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । ती सवारीसाधन आयात हुँदा २ अर्ब ८६ करोड रुपैयाँ राजस्व सङ्कलन भएको छ । जबकि गत आवको सात महिनामा भने १ अर्ब ५० करोडका सात सय ४८ वटा इन्धनबाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । ती सवारीसाधन आयात हुँदा ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।












प्रतिक्रिया