काठमाडौँ । बिचौलीय दीपक भट्ट पक्राउ परेका छन् । भट्टलाई सम्पत्ति सुद्धिकरणको विषयमा अनुसन्धान गर्न पक्राउ गरेको सिआईबीले जानकारी दिएको हो ।
यसअघि यहि चैत १५ गते अध्यागमन विभागले भट्टलाई कालोसुचीमा राखेको थियो । भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान सुरु गरेको छ ।
भट्टको राहदानी कालोसूचीमा राख्न सोमबार सम्पत्ति शुद्धीकरणले अध्यागमनलाई पत्र पठाएको थियो । सो पत्रका आधारमा भट्टको राहदानी कालोसूचीमा राखिएको थियो । भट्टमाथि विभिन्न ठुला ठेक्का र खरिदमा चलखेल गर्ने गरेको आरोप छ ।
उनले गैरकानुनी रुपमा आर्जेको सम्पत्ति शुद्धीकरणका लागि बैंकिङ र बिमा सम्बन्धी कसुर, सार्वजनिक सम्पत्तिको हानी, राजस्व छलीजस्ता काम गरेको भेटिएसँगै भट्टमाथि अनुसन्धान तिव्र पारिएको हो ।
निर्वतमान अर्थमन्त्री रामेश्वर खनालको निर्देशन तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानका आधारमा विभागले भट्टको सम्पत्तिमाथि अनुसन्धानलाई तिव्र बनाएको हो । यसक्रममा भट्टको बैंक खाता निगरानीदेखि सेयर रोक्कासम्मको काम थालिएको विभागले जनाएको छ ।
भट्टसँग सहकार्य गरेका पक्ष तथा व्यक्तिहरु माथि पनि विभागले अनुसन्धान थालेको छ । उनकी श्रीमती आयुष्मा नेपाल, सासु अन्जना नेपाल तथा शंकर ग्रुपका शंकरलाल अग्रवाल, सुलभ, साहिल, शुभी अग्रवालमाथि पनि विभागले अनुसन्धान गरिरहेको छ ।
शंकास्पद कारोबारका आधारमा भट्टमाथि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७९ मंसिरमै अनुसन्धान थालेको थियो । सो पश्चात् अनुसन्धान प्रकृया रोकिएकोमा अहिले राहदानी नै रोक्का गरेर अनुसन्धान तिव्र पारिएको हो ।












प्रतिक्रिया