काठमाडौँ । गोरखा सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राई सहित ४ जना पक्राउ परेका छन् । समस्याग्रस्त घोषण भएको सहकारीका तत्कालीन अध्यक्ष राईसहित अन्य ३ जना सञ्चालकलाई सहकारी बचत रकम अपचलन गरेको आरोपमा पक्राउ गरेको हो ।
कार्यालयका अनुसार पक्राउ पर्नेमा सहकारीका अध्यक्ष मानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालक कर्णबहादुर राई र अनलिकुमार राई रहेका छन्। उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको हो। हाल ललितपुर प्रहरीले चार दिनको म्याद थप गरी घटनाबारे विस्तृत अनुसन्धान अघि बढाइरहेको छ।
सहकारीमार्फत संकलित बचत रकम अपचलन गरिएको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो। प्रारम्भिक विवरणअनुसार ३ हजारभन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ बराबरको रकम हिनामिना भएको आरोप छ। केही विवरणमा बचतकर्ताको संख्या १० हजारभन्दा बढी र अपचलन रकम ४ अर्ब ५ करोड रुपैयाँ नाघेको उल्लेख गरिएको छ।
सरकारले उक्त सहकारीलाई यसअघि नै समस्याग्रस्त घोषणा गरी यसको सम्पत्ति तथा दायित्व व्यवस्थापनका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको छ। समितिमा हजारौं बचतकर्ताले अर्बौं रुपैयाँ फिर्ता माग गर्दै निवेदन दिएका छन्।












प्रतिक्रिया