काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा अधिकत तरलता भएपछि आइतबार ४० अर्ब तरलता संकलन गर्ने भएको छ । बैंकमा रहेको अधिक तरलता व्यवस्थापन गर्न ४० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन उपकरणबाट रकम संकलन गर्ने भएको हो ।
राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ५६ दिनको लागि उक्त तरलता संकलन गर्न लागेको हो ।
निक्षेप संकलन उपकरणको बोलकबोल आज (चैत २२ गते) दिउँसो ३ बजेसम्म ‘अनलाइन बिडिङ सिस्टम सफ्टवेयर’ मार्फत हुनेछ । संकलित निक्षेपको निष्कासन पनि आज गरिने र यसको सावाँ तथा ब्याज भुक्तानी आगामी २०८३ जेठ १७ गते हुनेछ ।
यस बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकम (४० अर्ब) सम्मका लागि आवेदन दिन सक्नेछन् ।
निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलको माध्यमबाटै तय गरिनेछ । बहु–ब्याजदरमा पनि बोलकबोल गर्न सकिने र सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई पहिलो प्राथमिकता दिइने बैंकले जनाएको छ ।












प्रतिक्रिया