बिग मर्जरको पहल, राष्ट्र बैंकले संकलन गर्न थाल्यो क्रस होल्डिङ्गको विवरण

0
Shares

चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत मर्जरलाई प्रोत्साहन गर्ने नीति अख्तियार गरेको राष्ट्र बैंकले क्रस होल्डिङ्ग भएका बैंक तथा वित्तीय संस्थाहरु मर्जरमा नगए फोर्स मर्जरमा लैजान पहल गर्ने भएको छ ।

जसका लागि राष्ट्र बैंकले एक वाणिज्य बैंकमा संस्थापक र साधारण शेयर रहि अर्को वाणिज्य बैंकमा पनि त्यस्तैगरि शेयर धारण गरेका (क्रस होल्डिङ्ग) भएका शेयरधनीको विवरण माग गरको छ ।

राष्ट्र बैंकले एक साताभित्र शेयरधनीको विवरण सहितको नामावली पेश गर्न निर्देशन समेत दिएको छ।

राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले ०.१ प्रतिशतभन्दा माथि क्रस होल्डिङ्ग गरेका शेयरधनीहरुको सूची पठाउन बैंकहरुलाई पत्राचार गरिएको जानकारी दिए । उनले एकाघरको परिवारको विवरण पठाउन निर्देशन दिईएको बताए।

शिवाकोटीले क्रस होल्डिङ्गको विवरण प्राप्त भैसकेपछि कति प्रतिशत शेयर धारण गरेका शेयरधनीहरुलाई लक्षित गरी अनिवार्य मर्जरमा पठाउने भन्ने कुरा तय गरिने उल्लेख गरे। सम्पुर्ण बैंकहरुले यस्तो विवरण पठाएपछि एकाघरभित्र निश्चित परिणामभन्दा माथिको क्रस होल्डिङ भएकाहरुलाई मर्जरमा जानै पर्ने निर्देशन दिने तयारी केन्द्रिय बैंकको छ ।

कार्यक्रममा शिवाकोटीले भने ‘हामी बीग मर्जर गर्न चाहन्छौं, त्यो पनि स्वेच्छिक नै हो, त्यो नभएको खण्डमा फोर्स नै हो । बैंकहरुको संख्या घटाउने नीति रहेको बताउँदै उनले आवश्यकता हेरेर फोर्सफुल मर्जरमा लगिने बताए ।