सात करोडको लगानीमा गोठाटारमा खुल्यो वाटर फन पार्क

0
Shares

काठमाण्डौंको गोठाटारमा ७ करोड रुपैयाँ निजी लगानीमा ‘गोठाटार वाटर फन पार्क प्रालि’ खुलेको छ । काठमाण्डौंको व्यस्त दैनिकीबाट छुटकरा दिलाउने अभिप्राय तथा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गर्दै शनिबारदेखि वाटर पार्क सञ्चालनमा ल्याइएको हो ।

काठमाण्डौं कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ८ मा ७ रोपनी जग्गामा फैलिएको उक्त फनपार्क कृष्ण मुरारी पुडासैनी र छवीलाल पुडासैनी दाजुभाईको निजी लगानीमा खुलेको हो । कागेश्वरी मनोहरा नगरपालिका मेयर कृष्णहरी थापाले फागुन २२ गते शनिबार एक कार्यक्रमका बीच उक्त फनपार्कको उद्घाटन गरेका थिए ।

पार्कभित्र प्रवेश गर्नका लागि ग्राहकले प्रतिव्यक्ति ३५० रुपैयाँ शुल्क तिर्नुपर्छ । विद्यार्थी परिचयपत्र हुनेले भने ३०० रुपैयाँ तिरेपछि प्रवेश पाउनेछन् । फागुन २२ गते शनिबार खुला भएको पार्कमा एक हप्ताभित्र जाने ग्राहकलाई ५० प्रतिशत ओपनिङ्ग डिस्काउन्टको व्यवस्था गरिएको वाटर फनपार्कका शालिक पुडासैनी बताउँछन् ।

नजिकिँदो गर्मी यामलाई लक्षित गर्दै खुला गरिएको पार्कमा दैनिक ५०० जनासम्म अटाउन सक्ने क्षमता रहेको छ । भावी दिनमा १ हजार जनाको क्षमता पुर्याउने पार्क सञ्चालकको योजना छ ।

वाटर पार्कभित्र सुइमिङ पुल, वाल क्लाइम्बिगं, बाल उद्यान, झर्ना, चिप्लेटी, पिङ, आदीको मज्जा लिन सकिन्छ । यस्तै पार्कभित्र फोटो सेसनका लागि चराको गुँडको आकृति लगायत विभिन्न सुविधा मार्फत पार्कमा जाने ग्राहकहरुलाई मनोरञ्जन प्रदान गर्न खोजिएको छ । पार्कमा मनोरञ्जनका लागि अन्य आकर्षक फाउण्टेन्सहरु पनि निर्माण गरिएका छन् जहाँ बालबालिकादेखि वृद्धाले सम्मले मनोरञ्जन लिन सक्छन् ।

यस्तै मनोरञ्जनपछि भोजनका लागि रेष्टुरेन्टको व्यवस्था गरिएको छ । जहाँ उचित मूल्यमा विभिन्न खानाका परिकार मार्फत पार्कमा जाने ग्राहकले भोक मेटाउन सक्नेछन् ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ।