अगस्ट २०२६ मा लण्डनमा हुँदै ‘प्रतिभा नक्षत्र–७’: विश्वभरका प्रतिभा र संस्कृतिको भव्य उत्सव

KITAB JATRTA

काठमाडौँ । प्रवासी नेपाली समुदाय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक मञ्चलाई लक्षित गर्दै “प्रतिभा नक्षत्र – सातौँ संस्करण” आगामी १६ अगस्ट २०२६ मा लण्डनमा आयोजना हुने भएको छ। आयोजकका अनुसार यो कार्यक्रमले विश्वभरका प्रतिभाहरूलाई एउटै मञ्चमा ल्याई सांस्कृतिक आदान–प्रदानलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

“प्रतिभा नक्षत्र” कार्यक्रमको सुरुवात केही वर्षअघि साना तथा युवापुस्तामा लुकेका प्रतिभाहरूलाई उजागर गर्ने उद्देश्यले गरिएको हो। विभिन्न चरणमा सफलतापूर्वक सम्पन्न भइसकेका यस कार्यक्रमले अन्तर्राष्ट्रिय स्तरमा समेत आफ्नो पहिचान बनाउँदै आएको छ। अघिल्ला संस्करणहरूमा विविध देशका सहभागीहरूले आफ्नो संस्कृति, कला र प्रतिभा प्रस्तुत गर्दै कार्यक्रमलाई समृद्ध बनाएका थिए। यसै निरन्तरतासँगै सातौँ संस्करण अझ व्यापक र अन्तर्राष्ट्रिय सहभागितासहित आयोजना हुन लागेको हो।

कार्यक्रममा नेपाल बाहेक विश्वका विभिन्न देशबाट सहभागी हुन सक्ने व्यवस्था गरिएको छ। प्रतियोगिता दुई विधामा सञ्चालन हुनेछ—बाल प्रतिभा नक्षत्र (बालबालिका) र युथ प्रतिभा नक्षत्र ९युवा०। दुवै समूहका सहभागीहरूले आफ्नै मौलिक सांस्कृतिक वा परम्परागत पोशाकमा कुनै पनि प्रकारको प्रतिभा प्रस्तुत गर्न सक्नेछन्।

प्रतियोगिता तीन चरणमा सम्पन्न हुनेछ, जसमा परिचय चरण, प्रतिभा प्रदर्शन चरण तथा प्रश्नोत्तर चरण समावेश छन्। विजेताहरूका लागि आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। बाल विधातर्फ प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः ५००, ४०० र ३०० पाउण्ड प्राप्त गर्नेछन् भने युथ विधातर्फ ७००, ६०० र ५०० पाउण्ड प्रदान गरिनेछ। यसका साथै सबै विजेताहरूलाई ट्रफी, प्रमाणपत्र तथा उपहार सामग्रीसमेत प्रदान गरिने आयोजकले जनाएको छ।

कार्यक्रमको अर्को विशेष आकर्षणका रूपमा “प्रतिभा नक्षत्र सांस्कृतिक गाउँ” निर्माण गरिनेछ। यसअन्तर्गत विभिन्न समुदायहरूले आफ्ना परम्परागत पहिरनसहित सांस्कृतिक पहिचान प्रस्तुत गर्न सक्नेछन्। सांस्कृतिक गाउँभित्र साहित्य घर (किताब जात्रा), भान्सा घर, कला तथा हस्तकला घर, स्वास्थ्य तथा वातावरण घर र बिक्री तथा प्रवर्द्धन घर जस्ता विभिन्न संरचनाहरू रहनेछन्।साहित्य घरमा पुस्तक प्रदर्शनी तथा सांस्कृतिक प्रस्तुतिहरू गरिनेछन् भने भान्सा घरमार्फत परम्परागत खानाका परिकार तयार पारेर बिक्री गर्ने अवसर प्रदान गरिनेछ। त्यस्तै, कला तथा हस्तकला घरमा प्रदर्शनी, बिक्री तथा प्रत्यक्ष सिर्जनात्मक गतिविधिहरू सञ्चालन हुनेछन्। स्वास्थ्य तथा वातावरण घरले जनचेतना फैलाउने कार्यक्रमहरू आयोजना गर्नेछ भने बिक्री तथा प्रवर्द्धन घरमार्फत जैविक तथा वातावरणमैत्री सामग्रीहरूको प्रचार–प्रसार गरिनेछ।सांस्कृतिक विविधतालाई झल्काउन थारू घर, खस घर, नेवारी घर लगायतका परम्परागत संरचनाहरू पनि प्रस्तुत गरिनेछन्।

साथै, अफ्रिकी समुदायसहित विश्वका अन्य समुदायहरूको सांस्कृतिक प्रतिनिधित्वसमेत रहनेछ। सांस्कृतिक गाउँमा सहभागिताका लागि उमेरको कुनै सीमा तोकिएको छैन।सहभागीहरूले प्रतिभा नक्षत्रको आधिकारिक वेबसाइट वा फेसबुक पेजमार्फत अनलाइन दर्ता गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोजकले समयमै दर्ता प्रक्रिया पूरा गरी कार्यक्रममा सहभागी हुन इच्छुक सबैलाई अनुरोध गरेको छ।

आयोजकका अनुसार कार्यक्रमको मुख्य उद्देश्य समानता, सहअस्तित्व, आपसी सम्मान तथा सांस्कृतिक आदान–प्रदानलाई प्रवर्द्धन गर्नुका साथै नयाँ पुस्तामा भाषा, संस्कार र परम्पराको हस्तान्तरण गर्नु हो।

प्रकाशित मिति: १७ बैशाख २०८३, बिहिबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।