शेखर गोल्छालाई हिरासतमा नराखी अनुसन्धान गर्न जिल्ला अदालतको आदेश


काठमाडौँ । जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिन अस्वीकार गरेकाे छ । पक्राउपछि म्याद थप गरी हिरासतमै राखेर अनुसन्धान गर्न गरिएको प्रहरीको माग अदालतले अस्वीकार गरेको हो।

न्यायाधीश मोना सिंहको इजलासले गोल्छालाई हिरासतमा राख्नुपर्ने पर्याप्त आधार नदेखिएको भन्दै उनलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप गर्न नमिल्ने आदेश दिएको छ। आदेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ अनुसार हिरासत आवश्यक हुने अवस्था नदेखिएकाले उनलाई थुनामा राख्ने अवस्था नरहेको उल्लेख गरिएको छ।

यसअघि सर्वोच्च अदालतले पनि धरौटी र जमानतको विकल्प हुँदाहुँदै थुनामा राखेर अनुसन्धान अघि बढाइएको विषयमा प्रश्न उठाएको थियो। सोही सन्दर्भपछि सीआईबीले उनलाई बीमासम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको भन्दै हिरासतमा राख्न म्याद थप माग गरेको भए पनि जिल्ला अदालतले त्यसलाई अस्वीकार गरेको हो।

यस आदेशपछि अनुसन्धान प्रक्रिया हिरासतबाहिरबाट अघि बढ्ने भएको छ।

प्रकाशित मिति: २२ बैशाख २०८३, मंगलबार  १६ : ४१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।