नीभ कर्पोरेशनको आईपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटल नियुक्त


काठमाडौँ । नीभ कर्पोरेशन लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्कासन गर्न ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा २०८३ वैशाख २३ गते काठमाडौंस्थित नक्सालमा रहेको ग्लोबल आइएमई क्यापिटलको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा दुवै पक्षबीच सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा नीभ कर्पोरेशनका अध्यक्ष यज्ञमुर्ति न्यौपाने र ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका २५ लाख कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गर्ने तयारी गरेको जनाएको छ ।

विसं २०७६ सालमा स्थापना भएको नीभ कर्पोरेशन लिमिटेडको केन्द्रीय कार्यालय दाङको तुलसीपुरमा रहेको छ भने काठमाडौंको सोल्टीमोडमा सम्पर्क कार्यालय रहेको छ । कम्पनीले हाल दाङ, नेपालगञ्ज र सुर्खेतलगायत क्षेत्रमा स्थानीय संस्कृति, भेषभूषा र स्वादलाई समेटेर होटल तथा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएको छ ।

कम्पनीले आतिथ्यता, कृषि र पर्यटनलाई समेट्ने एकीकृत अवधारणाअनुसार देशका विभिन्न २० भन्दा बढी स्थानमा व्यवसाय विस्तार गर्ने लक्ष्य राखेको छ । पूर्वको इलामदेखि कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रसम्म विस्तार गर्ने योजना कम्पनीको रहेको छ ।

होटल तथा पर्यटन क्षेत्रमा स्थानीय मौलिकता र संस्कृतिको संरक्षण गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ । त्यस्तै कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगमार्फत गुणस्तरीय उत्पादन, भण्डारण, प्रशोधन र बजारीकरणमा जोड दिइनेछ ।

दिगो तथा हरित विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले शून्य कार्बन उत्सर्जन र वातावरणमैत्री व्यवसायिक अभ्यास प्रवर्द्धन गर्ने उद्देश्य लिएको छ । स्थानीय स्रोत–साधनको उपयोग, रोजगारी सिर्जना र संस्कृतिको संरक्षणमार्फत दीर्घकालीन आर्थिक तथा सामाजिक योगदान पुर्‍याउने लक्ष्य कम्पनीको रहेको छ ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार  १० : ५६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।