विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री शाह


काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले दसैँले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने अवसर दिने बताएका छन् ।

विजयादशमीका अवसरमा आज शुभकामना सन्देश दिदै उनले यस पर्वले वर्षौंसम्म छुट्टिएका साथीभाइ तथा आफन्तजनसँग आत्मीयता बाँड्ने अवसरसमेत दिने उल्लेख गरे।

उनले यस पावन अवसरमा देश तथा विदेशमा रहेका सबैमा सुख, शान्ति समृद्धि र उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना सन्देशमा भनिएको छ, “आजको दिनमा आसुरी प्रवृत्तिको रूपमा रहेको भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक व्यथिति हटाउन र हरेक नागरिकलाई हाम्रा लागि सरकार छ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ । इमान्दार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ । परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी छ ।”

प्रकाशित मिति: ४ कार्तिक २०८३, बुधबार  १४ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।