नेपालको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न इयूको चासो


काठमाडौँ । युरोपेली सङ्घ (इयू) ले वर्तमान सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग तथा सहकार्य गर्ने चासो देखाएको छ ।
इयूका राजदूत भेरोनिक लोरेन्जोले आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग भेट गरी नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताइन् ।

सिंहदरबारस्थित मन्त्रालयमा भएको उक्त शिष्टाचार भेटमा द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रमा सहकार्यलगायत विषयमा विचार–विमर्श भएको थियो ।

भेटमा शिक्षामन्त्री पोखरेलले इयूले नेपालको विद्यालय शिक्षा क्षेत्र खासगरी समतामूलक पहुँच, गुणस्तर र शिक्षक पेसागत विकास प्रणाली सुदृढीकरण क्षेत्रमा गरेको सहयोगको सराहना गरिन् ।

उनले विद्यमान शिक्षाका समावेशिता, पूर्वाधार विकास शिक्षक पेसागत विकास लगायतका क्षेत्रमा भविष्यमा थप सहकार्य गर्न सकिने विचार व्यक्त गरिन् ।

महामहिम राजदूतले नेपालको नयाँ सरकारको प्राथमिकताको क्षेत्रमा सहयोग गर्न सिंगो इयू इच्छुक रहेको बताएकी थिइन् ।
राजदूत रोरेन्जोले नेपाल–ईयू सम्बन्धलाई अझ सुदृढ बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रकाशित मिति: २५ बैशाख २०८३, शुक्रबार  १६ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।