नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डेको पक्राउको विषयमा बैंकिङ क्षेत्रका चारवटा प्रमुख छाता संगठनहरूले संयुक्त रुपमा आपत्ति जनाएका छन् ।
बिहीबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले पाण्डेको पक्राउप्रति ध्यानाकर्षण भएको जनाएका हुन् ।
विज्ञप्तिमा बैंक तथा वित्तीय संस्थाहरू प्रचलित ऐन र नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार चल्ने संस्था भएको उल्लेख गर्दै पाण्डेको गिरफतारीप्रति बिरोध जनाएका हुन् । विज्ञप्तिमा भनिएको छ, “बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया), २०७३ को दफा ५७ ले कर्जा असुली नभएको खण्डमा बैंकलाई विशेष अधिकार दिएको र सो कार्य गर्नु सीइओको मुख्य दायित्व भित्र पर्दछ ।”
आम सर्वसाधारणको निक्षेप संकलन गरी जनविश्वासमा चल्ने बैंक जस्ता संस्थाको कर्जा असुली गरेको कारणबाट प्रमुख कार्यकारी अधिकृतलाई पक्राउ गर्दा बैंकको साखमा गिरावट आउन सक्ने भन्दै संघहरुले वित्तीय स्थायित्वमा नै आँच आउनेतर्फ ध्यानाकर्षण गराएका छन् ।
बैंकिङ क्षेत्रका संगठनहरूले ‘पहिले सुन अनि थुन’ को सिद्धान्तलाई आत्मसात गर्न आग्रह गर्दै पाण्डेलाई यथाशिघ्र थुनाबाहिर राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाउन अनुरोध समेत गरेका छन् । बैंकको गरिमा र उच्च पदस्थ कर्मचारीको मर्यादालाई ध्यानमा राख्दै अनुसन्धानका लागि थुनामै राख्नु गलत भएको उनीहरुको तर्क छ ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पाण्डेलाई वैशाख ३० गते नियन्त्रणमा लिएको थियो ।













प्रतिक्रिया