रोजगारीको खोजीमा एक महिनामै बाहिरिए ७४ हजार ४२९ नेपाली


काठमाडौँ । रोजगारीको खोजीमा वैशाखमा ७४ हजार बढी नेपाली परदेश गएका छन् । वैदेशिक रोजगार विभागका अनुसार वैशाखमा ६५ हजार १० पुरुष र ९ हजार ४१९ महिला गरी ७४ हजार ४२९ जनाले अन्तिम श्रम स्वीकृती लिएका हुन् ।

विभागका अनुसार, योसँगै चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो १० महिना अर्थात् २०८२ साउनदेखि २०८३ वैशाख मसान्तसम्ममा कुल ६ लाख ६१ हजार ७६२ नेपालीले श्रम स्वीकृति लिएका छन् ।

२०८२ साउनमा ६८ हजार ११०, भदौमा ६७ हजार ९७२, असोजमा ६४ हजार ६३४, कात्तिकमा ७३ हजार ९४, मंसिरमा ६५ हजार ७०५, पुसमा ६२ हजार ५५९ जनाले श्रम स्वीकृति लिएका छन् । त्यस्तै, माघमा ७० हजार ५०३, फागुनमा ५२ हजार ९४४, चैतमा ६१ हजार ८१२ र २०८३ वैशाखमा ७४ हजार ४२९ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाउँछ ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को पहिलो दश महिनामा ६ लाख ८५ हजार ९२४ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका थिए । अघिल्लो आर्थिक वर्षको पहिलो १० महिनाको तुलनामा चालु आर्थिक वर्षका सोही अवधिमा श्रम स्वीकृति लिनेको संख्या २४ हजार १६२ ले घटेको छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/०८२ को साउनमा ५९ हजार ५७५, भदौमा ५७ हजार ४९३, असोजमा ५३ हजार ५२५, कात्तिकमा ७० हजार ९९०, मंसिरमा ८४ हजार २२६, पुसमा ६७ हजार २५८, माघमा ७२ हजार ४४१, फागुनमा ६८ हजार ९६३, चैतमा ७३ हजार ४०३ र २०८२ वैशाखमा ७८ हजार ५० जना जनाले श्रम स्वीकृति लिएका थिए ।

यस्तै, अघिल्लो आर्थिक वर्षको साउनमा ५५ हजार ५७५, भदौमा ५० हजार ८८४, असोजमा ५६ हजार २३५, कात्तिकमा ४३ हजार ६२२, मंसिरमा ६८ हजार २०१, पुसमा ६५ हजार ८१३, माघमा ६२ हजार १४७, फागुनमा ६५ हजार ६५८, चैतमा ७० हजार ९३३ र २०८१ वैशाखमा ७० हजार ६३७ जनाले श्रम स्वीकृति लिएका थिए ।

कुन देशमा कति गए ?


बैशाख महिनामा सबैभन्दा धेरै मलेसियाको लागि गएका छन् । धेरै वर्षअघि देखि नै मलेसिया नेपालीहरुको रोजाइमा पर्दै आएको छ ।

उचित वातवरण, आकर्षक पारिश्रमिक र अन्य सेवा सुविधाले ती देशमा नेपालीहरको आकर्षण बढ्दै गएको हो । बैशाख महिनामा मलेसियामा १७ हजार २५२ जना नेपाली गएका छन् । यस्तै युएईमा १७ हजार १०८ जना नेपाली रोजगारीको सिलसिलामा जादा कतारमा १० हजार ६६७ जना गएका छन् ।

यसैबीचमा साउदी अरेबीयाको लागि ८ हजार ६६४ जना, कुवेतको लागि ३ हजार २७९ जना, राेमानियाको लागि ३ हजार २३१ जना, जापानको लागि १ हजार ९४८ जना गएका छन् ।

वैदेशिक रोजगारीका लागि नेपालबाट १०३ देशमा नेपाली जाने गरेका छन् । तीमध्ये सुडान, बहमास, फिलिपिन्स, म्यानमार, वेल्जियम लगायतका ७ देशहरुमा भने वैशाख महिनामा १–१ जना नेपाली मात्र गएका छन् ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार  ११ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।