बैंकिङ क्षेत्रमा खराब कर्जा साढे ५ प्रतिशत नाघ्यो, वित्त कम्पनी संकटमा


काठमाडौँ । बैंकिङ क्षेत्रमा नउठ्ने ऋण (खराब कर्जा) को मात्रा डरलाग्दो गरी बढ्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार, बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ५ प्रतिशत भन्दा माथि पुगेको हो ।

सामान्यतया कुल प्रवाह भएको ऋणमध्ये खराब कर्जाको अनुपात ५ प्रतिशतभन्दा माथि जानुलाई बैंकिङ स्वास्थ्यका लागि निकै जोखिमपूर्ण मानिन्छ । राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार अहिले समग्र बैंकिङ क्षेत्रकमा यस्तो कर्जा औसत ५.६० प्रतिशत पुगेको छ ।

केन्द्रिय बैंकका अनुसार सबैभन्दा खराब अवस्था ग वर्गका वित्त कम्पनी (फाइनान्स) हरूको देखिएको छ । यी कम्पनीहरूको खराब कर्जा १२.१९ प्रतिशत पुगेको छ । यसको अर्थ फाइनान्स कम्पनीहरूले बाँडेको कुल ऋणमध्ये हरेक १०० रुपैयाँमा १२ रुपैयाँभन्दा बढी रकम उठ्न सकेको छैन । यो तथ्याङ्कले धेरैजसो वित्त कम्पनीहरू गम्भीर वित्तीय संकटतर्फ धकेलिएको संकेत गर्दछ ।

त्यस्तै, देशका ठूला वाणिज्य बैंकहरूको खराब कर्जा पनि ५.४१ प्रतिशत पुगेको छ भने विकास बैंकहरूको यस्तो कर्जा ६.१३ प्रतिशत रहेको छ । विगतका वर्षहरूमा वाणिज्य बैंकहरूको खराब कर्जा निकै न्यून हुने गरे पनि यसपटक ती बैंकहरू पनि दबाबमा परेका छन् ।

ऋण नउठेपछि बैंक तथा वित्तीय संस्थाहरूले सम्भावित जोखिमलाई मध्यनजर गर्दै आफ्नो नाफाबाट ठूलो रकम सुरक्षित राख्नुपर्ने कानुनी व्यवस्था छ । तथ्याङ्क अनुसार बैंकहरूले कुल ऋणको ५.९२ प्रतिशत रकम जोखिम व्यवस्थापनका लागि छुट्टाएका छन् ।

एकातिर बैंकहरूमा ऋण नउठेर समस्या परेको छ भने अर्कोतिर बैंकहरूमा पैसा (निक्षेप) थुप्रिने तर कर्जा प्रवाह नहुने क्रम रोकिएको छैन । चैत मसान्तसम्ममा बैंकिङ प्रणालीमा कुल ७९ खर्ब १८ अर्ब रुपैयाँ बचत संकलन भएको छ । तर, बैंकहरूले जम्मा ५९ खर्ब ८ अर्ब रुपैयाँ मात्र कर्जा प्रवाह गर्न सकेका छन् ।

बैंकहरूसँग लगानी गर्नका लागि प्रचुर रकम भए पनि बजारमा नयाँ ऋणको माग नभएको उनीहरूको भनाई छ । ऋण लिएकाहरूले पनि समयमै बुझाउन नसकेका कारण बैंकहरू नयाँ क्षेत्रमा लगानी गर्न डराइरहेको बैंकरहरूको भनाई छ । हाल बैंकहरूले आफ्नो लगानी गर्ने क्षमताको जम्मा ७३ प्रतिशत मात्र उपयोग गरेको तथ्यांकले देखाएको छ ।

मुलुकमा लामो समयदेखि देखिएको आर्थिक शिथिलता नै खराब कर्जा बढ्नुको प्रमुख कारण भएको विज्ञहरू बताउँछन् । आम्दानीको स्रोत खुम्चिँदै गएपछि धेरै ऋणीहरूले बैंकको किस्ता र ब्याज बुझाउन नसकेको बैंकहरूको भनाई छ ।

सिटिजन्स बैंकका सूचना अधिकारी नारायणराज अधिकारीका अनुसार धितोमा रहेको सम्पत्ति बिक्री नहुनु, ऋणीले ऋण नतिर्नु र समग्र व्यापारमा गिरावट आउँदा खराब कर्जा बढेको हो । यसले बैंकहरूको मुनाफामा पनि असर परेको उनको भनाई छ । “यसले बैंकहरूको वितरणयोग्य नाफामा गिरावट ल्याएको छ, जसको कारण लगानीकर्ता मारमा परेको छन्,” उनले भने ।

खराब कर्जा बढ्दा निक्षेपकर्ताहरूले उचित ब्याज पाउन नसक्दा पूँजी पलायनको जाखिम बढेको अधिकारीको भनाई छ ।खराब कर्जा घटाउनको लागि एसेट म्यानेजम्यान्ट कम्पनी आवश्यक रहेको उनी बताउँछन् । साथै हल्लाकै भरमा बैंकहरूलाई नियन्त्रणमा लिन नहुने पनि उनको भनाई छ ।

यसका साथै कतिपय क्षेत्रमा भएको जथाभाबी लगानी र बजारमा देखिएको निराशाजनक वातावरणले गर्दा पनि बैंकको ऋण उठ्न कठिन भएको जानकारहरूको भनाई छ । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापा विगतमा घरजग्गा र सेयर बजार जस्ता अनुत्पादक क्षेत्रमा गरेको लगानीले गर्दा यो अवस्था आएको बताउँछन् । विगतमा लिएको गलत नीतिको कारण अहिले समस्या सिर्जना भएको विज्ञहरूको भनाई छ ।

बैंकहरूले गरेको लगानीको ठुलो हिस्सा खराब कर्जामा परिणत हुनु अर्थतन्त्रको लागि चिन्ताको विषयमा भएको राष्टरू बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्री बताउँछन् । ब्याजदर न्यून हुँदा पनि किन लगानी बढेन भन्ने प्रश्नको उत्तर पहिले खोज्नुपर्नेमा क्षेत्रीको जोड छ ।

खराब कर्जा भनेको बैंकहरूबाट ऋण लिएर नतिर्ने ऋणीहरूलाई कालोसुचीमा राखेको रकम हाे। यो अवस्थाले कालान्तरमा कालोसुचीमा पर्नेको संख्या बढ्दा लगानी नहुने र निक्षेपमा रहेको पैंसा पनि उपभोगमा खर्च हुने उनको भनाई छ । “सामान्यतया उपभोग बढ्दा बजार चलायमान हुन्छ र पैसाको परिचालन बढ्छ ।

तर हाम्रो अर्थतन्त्रमा पैसा मुख्यतः आयात भएका सामानमा खर्च हुन्छ, जस्तै आइफोन, बासमती चामल, र स्याउ,” उनले भने, “यसकारण उपभोग बढ्यो भने पैसा चलायमान हुन्छ भन्ने अवस्था पनि हाम्रोमा छैन ।” यसले नेपालको अर्थतन्त्र रोगी बन्ने अवस्था आएको उनको भनाई छ ।

विगतमा कर्जाको सदुपयोगितामा ध्यान दिन नसक्दा अहिलेको अवस्था आएको उनको भनाई छ । “पर्याप्त अध्ययन अनुसन्धान बिना लगानी गर्दा यस्तो अवस्था आएको छ,” उनले भने ।

सरकारले वैज्ञानिक प्रविधि गरेर उत्पादनशील क्षेत्रमा लगानी गर्न प्रेरित गर्नुपर्ने र रोजगारी सिर्जनामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ । सानो क्षेत्रमा लगानी नगर्ने तर ठुलो परियोजनामा मात्रै केन्द्रित हुनु गलत भएको उनको भनाई छ । सानो क्षेत्रमा के ध्यान दिने भन्ने सरकार र नागरिकको सोचाईले गर्दा मुलुकको अर्थतन्त्र यो अवस्थामा पुगेको क्षेत्रीको भनाई छ ।

स्याङ्जाको फेदीखोला गाउँपालिकाका युवा अध्यक्ष घनश्याम सुवेदीले खेती गर्ने भनेर कर्जामा सहयोग गर्ने, बिउ बिजन सबै दिने व्यवस्था गरेका छन्,” उनले भने, “अनि उत्पादन भएपछि एक ठाउँमा बजार केन्द्र राखिदिए बिकी्र भएको भयो नभएको गाउँपालिकाले खरिद गरेर आफुले बजारको व्यवस्था गरेका छन् । यसले पनि त हुँदो रहेछ नी त ।” एमसीसीको ५५ अर्बलाई छोडर यो सामान्य कुरामा के ध्यान दिने भन्ने सोचेमा यो अवस्था झन् विकराल बन्दै जाने उनी बताउँछन् ।

यदि खराब कर्जा नियन्त्रणका लागि समयमै ठोस कदम नचालिए यसले समग्र मुलुकको अर्थतन्त्रलाई नै गम्भीर मोडमा पु¥याउन सक्ने जोखिम देखिएको विज्ञहरूको चेतावनी छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०८३, बुधबार  ०६ : ५५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।