काठमाडौँ । जुटको मूल्य बढेपछि कोशी प्रदेशका किसानले खेती विस्तार गर्न थालेका छन् । किसानले खेती विस्तार गरेसँगै यस वर्ष जुटको उत्पादन बढ्ने र कच्चा पदार्थको अभाव झेलिरहेका उद्योगलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ । पछिल्ला दुई वर्षदेखि जुटको मूल्य राम्रो भएपछि किसानले अन्य बाली छाडेर जुट खेती विस्तार गर्न थालेका हुन् ।
उद्योगीका अनुसार यस वर्ष कोशी प्रदेशमा जुटको उत्पादन गत वर्षको तुलनामा झन्डै दोब्बर हुने देखिएको छ । विगतका वर्षहरूमा करिब आठ हजार मेट्रिक टन जुट उत्पादन हुँदै आएकोमा यस वर्ष १५ देखि १६ हजार मेट्रिक टनसम्म उत्पादन हुन सक्ने उनीहरूको अनुमान छ ।
स्वदेशी उत्पादन बढेपछि सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका जुट उद्योगलाई कच्चा पदार्थको आपूर्तिमा केही सहज हुने उद्योगीहरूको अपेक्षा छ । यस क्षेत्रमा रहेका जुट उद्योगको वार्षिक प्रशोधन क्षमता करिब ६५ हजार मेट्रिक टन छ । तर स्वदेशमा उत्पादन हुने जुटले उद्योगको आवश्यकताको सानो हिस्सा मात्रै पुरा गर्दै आएको छ ।
नेपालका जुट उद्योगमा लामो समयदेखि कच्चा पदार्थको अभाव मुख्य समस्याका रूपमा रहँदै आएको उद्योगीहरूले बताउने गरेका छन् । उद्योग सञ्चालनका लागि आवश्यक जुटको ठूलो हिस्सा भारत र बंगलादेशबाट आयात गर्नुपर्ने अवस्था छ । गत वर्ष बंगलादेशले कच्चा जुट निर्यातमा लगाएको प्रतिबन्धका कारण नेपाली उद्योगले थप समस्या भोग्नुपरेको थियो ।
अहिले भने बंगलादेशले कच्चा जुटको निर्यात खुला गरेको र नेपालमा पनि उत्पादन बढ्ने अनुमान रहेकाले उद्योगी केही आशावादी देखिएका छन् । जुट उद्योगी अमित जैनका अनुसार नेपाल, भारत र बंगलादेशमा यस वर्ष जुटको उत्पादन राम्रो भएको हुँदा आगामी सिजनमा कच्चा पदार्थको अभाव नहुने आशा गरिएको छ ।
उनका अनुसार बंगलादेशबाट सस्तो मूल्यमा कच्चा जुट आउन थालेकाले नेपाली उद्योगलाई केही राहत भएको छ । स्वदेशी उत्पादन बढेमा बाह्य मुलुकमाथिको निर्भरता पनि घटाउन सकिने उनको भनाइ छ । “आन्तरिक उत्पादनमा सुधारको संकेत देखिएको छ । भारत र बंगलादेशमा पनि उत्पादन राम्रो भयो भने यस वर्ष कच्चा पदार्थको समस्या केही कम हुने अपेक्षा छ,” जैनले भने ।
सरकारले जुट खेती र उद्योग दुवैलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने आवश्यकता रहेको उनी बताउँछन् । जुट खेतीका लागि आवश्यक पूर्वाधार निर्माण, किसानलाई प्रोत्साहन र उद्योगलाई दिइँदै आएको सहुलियत पुनः सुरु गर्न सके स्वदेशी उत्पादन बढाउन सकिने उनको भनाइ छ ।
नेपालमा विगतमा जुट उद्योगले निर्यातबाट राम्रो आम्दानी गर्दै आएकोमा अहिले कच्चा पदार्थका लागि समेत विदेशमा निर्भर हुनुपर्ने अवस्था आउनु चिन्ताको विषय भएको उनले बताए । उनका अनुसार सरकारले यसअघि उद्योगलाई दिँदै आएको विद्युत् सहुलियत र पाँच प्रतिशत निर्यात प्रोत्साहन पनि पुनः उपलब्ध गराउन आवश्यक छ । “जुट खेतीका लागि आवश्यक पूर्वाधार तयार गर्न सके र उद्योगलाई दिइँदै आएको सहुलियत पुनः सुरु गरे स्वदेशी उत्पादन र उद्योग दुवैलाई फाइदा हुन्छ,” उनले भने ।
कृषि ज्ञान केन्द्र सुनसरीका अनुसार यस वर्ष जिल्लामा करिब एक हजार ३३४ हेक्टर क्षेत्रफलमा जुट खेती गरिएको छ । त्यसबाट करिब दुई हजार १८१ मेट्रिक टन जुट उत्पादन हुने अनुमान गरिएको छ । यो गत वर्षको तुलनामा बढी रहेको केन्द्रको दाबी छ ।
कृषि ज्ञान केन्द्र सुनसरीका सूचना अधिकारी प्रविणकुमार श्रेष्ठका अनुसार पछिल्ला दुई वर्षदेखि जुटको मूल्य राम्रो भएपछि किसानले खेती विस्तार गरेका हुन् । मकै लगाउने समयमा भएको अत्यधिक वर्षा र चैते धानको तुलनामा जुटबाट राम्रो आम्दानी हुने सम्भावनाले पनि किसानलाई जुटतर्फ आकर्षित गरेको उनले बताए ।
“जुटको मूल्य राम्रो भएकाले किसानले यस वर्ष खेती विस्तार गरेका छन् । अहिलेको मूल्य कायम रह्यो भने आगामी वर्षमा पनि उत्पादन बढ्ने सम्भावना छ,” श्रेष्ठले भने ।
किसानलाई जुट खेतीमा आकर्षित गर्न कृषि ज्ञान केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको उनले बताए । उनका अनुसार जुट खेती हुने क्षेत्रमा २० वटा प्रदर्शन कार्यक्रम सञ्चालन गरिएको छ । किसानलाई कृषि अनुसन्धान परिषद् (नार्क) ले सिफारिस गरेको जुटको बीउ वितरणसमेत गरिएको छ ।
त्यस्तै, किसानलाई आवश्यकता अनुसार मल प्रयोग गर्न, माटो परीक्षण गरेर मल व्यवस्थापन गर्न र सुरक्षित रूपमा विषादी प्रयोग गर्न तालिम दिइएको श्रेष्ठले बताए । जुटबाली अनुसन्धान केन्द्रमार्फत उन्नत जातको जुटको बीउ उत्पादन गरी वितरण गर्ने काम पनि भइरहेको उनले जानकारी दिए ।
किसानले विगतमा आवश्यकताभन्दा बढी मल प्रयोग गर्ने गरेको पाइएपछि सन्तुलित रूपमा मल प्रयोग गर्न सिकाइएको उनको भनाइ छ । माटोको अवस्था हेरेर मात्र मल प्रयोग गर्दा उत्पादन लागत घटाउन र उत्पादन बढाउन सकिने भएकाले त्यसतर्फ पनि किसानलाई जानकारी दिइएको उनले बताए ।
मूल्य बढेपछि आकर्षित भए किसान
जुटको मूल्य बढेपछि किसानका लागि यसको खेती आकर्षक बन्दै गएको छ । अहिले कच्चा जुट प्रतिमन ६ हजारदेखि ६ हजार ५०० रुपैयाँसम्ममा कारोबार भइरहेको श्रेष्ठले बताए । मूल्य राम्रो पाएकै कारण किसानले मकै, धानलगायतका बालीको सट्टा जुट खेती गर्न थालेका छन् । खेतीको लागत पनि विगतको तुलनामा केही घटेको किसान तथा कृषि प्राविधिकको भनाइ छ ।
जुट खेतीमा अहिले ट्र्याक्टरको प्रयोग बढेको छ । त्यसैगरी झार नियन्त्रण र कीरा नियन्त्रणका लागि आवश्यक विषादी प्रयोग गर्न थालिएको छ । यसले खेतीका लागि आवश्यक मजदुरको संख्या र लागत दुवै घटाउन सहयोग गरेको श्रेष्ठले बताए । “पहिले मजदुर लगाएर गोडमेल गर्नुपर्दा लागत धेरै पथ्र्यो । अहिले प्रविधिको प्रयोग बढेपछि खेतीको लागत केहि घटेको छ,” उनले भने ।
जुट काटेपछि खेतमा धान वा तोरी लगाउन सकिने भएकाले किसानलाई थप आम्दानीको अवसर मिल्छ । जुटको पात खेतमै खस्दा माटोको उर्वराशक्ति बढाउन पनि सहयोग पुग्ने कृषि प्राविधिकहरू बताउँछन् ।
तर अहिलेको मूल्यकै आधारमा जुट खेतीको भविष्य सुनिश्चित हुन्छ भन्ने अवस्था भने छैन । भारत र बंगलादेशमा हुने उत्पादन तथा त्यहाँको बजार मूल्यले नेपाली जुटको मूल्यमा प्रत्यक्ष प्रभाव पार्ने भएकाले मूल्य घटेमा किसान फेरि अन्य बालीतर्फ फर्किन सक्ने जोखिम छ ।
त्यसैले किसानलाई तत्काल राम्रो मूल्य दिनुका साथै जुट खेतीलाई दीर्घकालीन रूपमा टिकाउने कार्यक्रम आवश्यक रहेको श्रेष्ठले बताए । उत्पादनसँग बजारलाई जोड्न सके मात्र किसानलाई जुट खेतीमा टिकाउन सकिने उनको भनाइ छ ।
किसानलाई प्रोत्साहन गर्ने तयारी
कोशी प्रदेश सरकारले पनि जुट खेतीलाई प्रवद्र्धन गर्न किसानलाई प्रोत्साहन दिने तयारी गरेको जनाएको छ । चालु आर्थिक वर्षमा झापा, मोरङ र सुनसरीका किसानलाई जुट खेतीमा आकर्षित गर्न ५८ लाख रुपियाँ विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा महाशाखा प्रमुख प्रकाश मरासैनीका अनुसार जुट खेतीका लागि प्रोत्साहन अनुदान दिने कार्यक्रम ल्याउन लागिएको हो ।
उनका अनुसार यसको कार्यविधि अन्तिम चरणमा पुगेको छ । एक कट्ठा क्षेत्रफलमा जुट खेती गर्ने किसानलाई एक हजार रुपियाँका दरले प्रोत्साहन दिने विषयमा छलफल भइरहेको उनले बताए । “विगतका वर्षमा जुट खेतीका लागि पर्याप्त काम हुन सकेन । अब यसलाई प्राथमिकतामा राखेर किसानलाई प्रोत्साहन गर्ने तयारी गरेका छौँ,” मरासैनीले भने ।
जुटसँग सम्बन्धित उद्योगी तथा अन्य सरोकारवालासँग छलफल गरेर कार्यक्रम तयार गरिएको उनले बताए । आगामी दिनमा जुट खेती विस्तारका लागि थप के गर्न सकिन्छ भन्ने विषयमा पनि छलफल भइरहेको उनको भनाइ छ ।
उत्पादन बढे पनि उद्योगको आवश्यकता ठूलो
यो वर्षमा देशभित्रै जुटको उत्पादन बढ्ने देखिएको पनि त्यो कुल मागको २० प्रतिशत हाराहारी मात्रै पुग्ने उद्योगी जैनको भनाई छ । सुनसरी–मोरङ औद्योगिक क्षेत्रमा रहेका उद्योगको वार्षिक प्रशोधन क्षमता करिब ६५ हजार मेट्रिक टन रहेकाले स्वदेशी उत्पादनले त्यसको तुलनामा निकै कम हिस्सा मात्र पूरा गर्ने उनी बताउँछन् ।
त्यसैले स्वदेशी उत्पादन बढाउनुका साथै भारत र बंगलादेशबाट कच्चा पदार्थ आयात सहज बनाउनु पनि आवश्यक रहेको उनी बताउँछन् ।
उद्योगीका अनुसार यस वर्ष नेपालसँगै भारत र बंगलादेशमा पनि जुट उत्पादन राम्रो भएमा अन्तर्राष्ट्रिय बजारबाट कच्चा पदार्थ ल्याउन सहज हुन सक्छ । बंगलादेशले कच्चा जुटको निर्यात खुला गरेपछि नेपाली उद्योगलाई थप राहत मिल्ने अपेक्षा गरिएको छ ।
यद्यपि उद्योगीहरूले कच्चा पदार्थको सहज आपूर्तिसँगै उत्पादन लागत घटाउन सरकारी सहयोग पनि आवश्यक रहेको बताएका छन् । विगतमा पाउँदै आएको विद्युत् सहुलियत र निर्यात प्रोत्साहन हट्दा नेपाली उद्योगको उत्पादन लागत बढेको उनीहरूको भनाइ छ ।
उद्योगीहरूका अनुसार विगतमा नेपालले आन्तरिक माग पुरा गरेरे जुट भारततर्फ जुट निर्यात गर्ने गथ्र्याे । आगामी दिनमा किसानदेखि उद्योगसम्मको सम्पूर्ण शृङ्खला बलियो बनाउन सके जुट क्षेत्रले फेरि निर्यातबाट आम्दानी गर्ने सम्भावना रहेको छ ।
उद्योगीहरूका अनुसार नेपालमा कुनै समय जुट मुख्य निर्यातजन्य वस्तुमध्ये एक थियो । तर खेती घट्दै जानु, निजीकरण पछि उद्योग बन्द हुनु, सञ्चालनमा रहेको जुट विकास केन्द्र बन्द हुनु लगायत कारणले किसान पलायन हुँदा कच्चा पदार्थका लागि विदेशमा निर्भर हुनुपर्ने अवस्था र सरकारी सहुलियतमा आएको कमीका कारण पछिल्ला वर्षमा यो क्षेत्र कमजोर बन्दै गएको छ ।
देशभर सञ्चालनमा रहेका ११ वटा जुट उद्योगमध्ये ६ ओटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योग पनि पूर्ण क्षमतामा चल्न नसकेको उद्योगीहरू बताउँछन् । कच्चा पदार्थको अभावसँगै उत्पादन लागत बढ्नु र अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न कठिन हुनु उद्योगका मुख्य समस्या रहेको उनीहरूले बताउने गरेका छन् ।
यस वर्ष जुट खेती विस्तार भएर उत्पादन बढ्ने अनुमानले उद्योगीलाई तत्कालका लागि राहतको आशा भने जगाएको छ । तर किसानले आगामी वर्ष पनि जुट खेती जारी राख्ने अवस्था बनाउन बजारको उचित मूल्य, उन्नत बीउ, प्राविधिक सहयोग र खेतीका लागि आवश्यक पूर्वाधार उपलब्ध गराउनुपर्ने आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन् ।
स्वदेशी उत्पादन बढ्दै जानु सकारात्मक संकेत भए पनि त्यसले मात्र जुट उद्योगको पुरानो संकट समाधान नहुने जानकारहरूको भनाई छ । किसानलाई उत्पादनमा टिकाउने र उद्योगलाई आवश्यक कच्चा पदार्थ नियमित रूपमा उपलब्ध गराउने नीति सँगसँगै अघि बढाउन सके मात्रै नेपालको जुट क्षेत्र पुनः बलियो बन्ने उनीहरूको भनाई छ ।












प्रतिक्रिया