काठमाडौँ । नेपालको संघीय संसद्मा आर्थिक वर्ष २०७२/७३ देखि बजेट जेठ १५ गते पेस हुँदै आएको छ। जेठ १५ मा संघीय संसदमा बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भएकोले सोही अनुरुप बजेट सार्वजनिक हुन्छ ।
आज आम नागरिक, व्यवसायी, लगानीकर्ता, कर्मचारीदेखि किसानसम्मको ध्यान आगामी आर्थिक वर्षको बजेटतर्फ केन्द्रित हुन्छ ।
तर अर्थमन्त्रीले साझँ ४ बजेपछिबाट मात्र बजेट प्रस्तुत गर्ने गरेका छन् । तर, संविधानले बजेट जुनसुकै समयमा सार्वजनिक गर्न मिल्ने व्यवस्था गरेको भएतापनि बजेट बिहानै वा दिउँसो किन सार्वजनिक हुँदैन ? किन प्रायः साँझ ४ बजेपछि मात्रै अर्थमन्त्रीले बजेट प्रस्तुत गर्छन् ?
नेपालमा बजेट सार्वजनिक गर्ने औपचारिक अभ्यास २००८ सालदेखि सुरु भएको मानिन्छ । तत्कालीन अर्थमन्त्री सुवर्णशमशेर राणाले पहिलो पटक २००८ माघ २१ गते संसद्मा बजेट प्रस्तुत गरेका थिए । त्यसयता सरकारले आगामी आर्थिक वर्षको आय–व्यय विवरण चालु आर्थिक वर्ष समाप्त हुनुअघि नै सार्वजनिक गर्दै आएको छ ।
नेपालको संविधान, २०७२ को धारा ११९ अनुसार सरकारले प्रत्येक वर्ष जेठ १५ गते संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्छ । तर संविधानले बजेट प्रस्तुत गर्ने निश्चित समय भने तोकेको छैन । अर्थात् जेठ १५ गतेभित्र जुनसुकै समयमा बजेट सार्वजनिक गर्न सकिन्छ ।
यद्यपि व्यवहारमा भने हरेक वर्ष बजेट साँझ ४ बजेपछि नै सार्वजनिक हुँदै आएको छ । संविधानले बिहानदेखि रातिसम्मको कुनै पनि समय रोज्न छुट दिए पनि सरकारले लगातार साँझपखको समय रोज्नुको पछाडि ऐतिहासिक र प्रशासनिक दुवै कारण रहेको विज्ञहरू बताउँछन् ।
संविधान जारी हुनुअघि बजेट असार अन्तिमतिर सार्वजनिक हुन्थ्यो, जुन खेतीपातीको मुख्य समय मानिन्थ्यो । अधिकांश जनता कृषिमा निर्भर रहेकाले किसानले दिनभरको काम सकेर बजेटबारे जानकारी लिन सकून् भन्ने उद्देश्यले साँझ ४ बजेपछि बजेट प्रस्तुत गर्ने चलन सुरु भएको जानकारहरु बताउँछन् ।
संविधानले ४ बजेपछि मात्रै बजेट ल्याउनुपर्ने कुनै बाध्यता नदिएकोले सरकारले तयारी पूरा गर्न सके बिहान १० बजे पनि बजेट सार्वजनिक गर्न सक्ने भएतापनि सबैले बजेट सुन्न सकुन भनेर विगतदेखि नै बजेट साँझ सार्वजनिक गर्ने गरिएको छ ।
पूर्वअर्थमन्त्री दिपेन्द्र बहादुर क्षेत्रीले तयारी प्रक्रियाका कारण बजेट साँझ सार्वजनिक हुने बताए । बजेट दस्तावेज अन्तिम समयसम्म संशोधन, परिमार्जन र समायोजनको प्रक्रियामा रहने भएकाले अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय तथा अन्य निकायबीच अन्तिम घडीसम्म बैठकहरु भइरहेको भएकोले बजेट पेशमा ढिलाई हुने उनी बताउँछन् ।
‘बजेट लिक हुने डरले सोही दिन प्रिन्ट गर्नुपर्छ, अन्य मस्यौदा तयार गर्नुपर्छ जसकारण बजेट पेश गर्न ढिलो हुन्छ’ उनले भने ।
बजेट केवल सरकारको आय–व्यय विवरण मात्र होइन, आगामी वर्षको आर्थिक नीति, विकास प्राथमिकता, कर नीति, सामाजिक सुरक्षा कार्यक्रम, कृषि, उद्योग, व्यापार तथा पूर्वाधार विकासको मार्गचित्रसमेत हो । त्यसैले यसको प्रभाव समाजका सबै वर्गमा पर्ने भएकाले बजेटप्रति स्वाभाविक रूपमा व्यापक चासो रहन्छ ।
तर बजेट साँझ मात्रै सार्वजनिक हुने अभ्यासमाथि पछिल्ला वर्षहरूमा प्रश्न उठ्न थालेका छन्। बिहानैदेखि नागरिक, व्यवसायी, सञ्चारमाध्यम र सरोकारवालाले बजेटको प्रतीक्षा गर्नुपर्ने अवस्था रहने गरेको छ। विज्ञहरूका अनुसार बजेट बिहान १० बजेतिर सार्वजनिक गरिए त्यसको अध्ययन, विश्लेषण र प्रतिक्रिया दिन पर्याप्त समय उपलब्ध हुने थियो।
बिहानै बजेट सार्वजनिक गर्दा पत्रकार, अर्थविद्, निजी क्षेत्र, नागरिक समाज र सर्वसाधारणले दिनभर त्यसबारे छलफल गर्न सक्ने भएतापनि बजेट साँझ पेश हुँदै आएको छ ।
धेरै विकसित मुलुकहरूमा बजेट बिहान वा कार्यालय समयमै सार्वजनिक गर्ने अभ्यास रहेको उदाहरण दिँदै विज्ञहरूले नेपालमा पनि समय व्यवस्थापन र सार्वजनिक सुविधालाई ध्यानमा राखेर बजेट प्रस्तुत गर्ने समयबारे पुनर्विचार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।










प्रतिक्रिया