काठमाडौं । शोधनान्तर बचत गत आवको तुलनामा दोब्बर भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिना वैशाख मसान्तसम्ममा देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार शोधनान्तर स्थिति ८ खर्ब ६३ अर्ब ५६ करोड बचतमा रहेको छ ।
गत आवको यसै अवधिमा शोधनान्तर स्थिति ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा थियो । अमेरिकी डलरमा गत आवको १० महिनामा ३ अर्ब २३ करोड रहेको शोधनान्तर स्थिति चालु आवको १० महिनामा ५ अर्ब ९८ करोड पुगेको छ ।
समीक्षा अवधिमा चालु खाता ७ खर्ब २९ अर्ब २८ करोडले बचतमा छ । अघिल्लो आवको सोही अवधिमा चालु खाता २ खर्ब ७२ अर्ब ५३ करोडले बचतमा थियो ।
अमेरिकी डलरमा अघिल्लो आवको सोही अवधिमा २ अर्ब १ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा ५ अर्ब ५ करोडले बचतमा पुगेको छ ।
यस अवधिमा खुद पुँजीगत ट्रान्सफर १४ अर्ब ६५ करोड बराबर भएको छ । गत आवको सोही अवधिमा यस्तो रकम ८ अर्ब ४८ करोड थियो । चालु आवको १० महिनामा प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ९६ करोड भित्रिएको छ । गत आवमा यस्तो रकम १० अर्ब ५८ करोड भित्रिएको थियो ।












प्रतिक्रिया