जीवन बीमा कम्पनीहरुको साढे ४ अर्बको आईपीओ आउँदै, कुनको कति ?

0
Shares

सात जीवन बीमा कम्पनीले साढे ४ अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएका छन् । सञ्चालनमा आएका दशमध्ये बाँकी रहेका ७ कम्पनीले शेयर जारी गरेर बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी कायम गर्ने प्रकृयामा रहेका हुन् । तीन कम्पनीले भने यसअघि नै सर्वसाधारणमा शेयर जारी गरिसकेका छन् ।

सञ्चालनमा आएका दशमध्ये ७ जीवन बीमा कम्पनीहरुले ४ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबरको ४ करोड ३९ लाख ५० हजार कित्ता शेयर निष्काशन आईपीओ निष्काशन गर्न लागेका हुन् ।

सबैजसो कम्पनीहले यसअघि कै साधारण सभाबाट आईपीओ जारी गर्ने प्रस्ताव पारित गरेपनि पछिल्लो साधारणसभासम्म शेयर जारी गर्न नसकेपछि पुनः साधारण सभाबाट अनुमोदन समेत गराएका छन् । केहीले शेयर जारी गर्न क्रेडिट रेटिङ्ग समेत गराइसकेका छन् ।

दश नयाँ जीवन बीमा कम्पनीमध्ये तीन कम्पनीहरु रिलायन्स लाइफ, प्रभु लाइफ र ज्योति लाइफले भने सर्वसाधारणमा आईपीओ निष्काशन गरि सकेका छन् । प्रभु, रिलायन्सको शेयर अहिले दोस्रो बजारमा कारोबार भईरहेको छ । चैत १३ गते बाँडफाँड गरेको ज्योति लाइफ इन्स्योरेन्स पनि यसै सातादेखि कारोबारमा आउने अन्तिम तयारीमा रहेको छ ।

अब सात बीमा कम्पनी सिटिजन लाइफ, आईएमई लाइफ, सानिमा लाइफ, रिलायबल लाइफ, महालक्ष्मी लाइफ, सन नेपाल लाइफ र यूनियन लाइफको आइपीओ जारी हुन बाँकी रहेको छ ।

  • कुन कम्पनीको कति आउँदैछ आइपीओ ?

आईपीओ निष्काशनको तयारीमा रहेका ७ कम्पनीमध्ये सबैभन्दा धेरै सिटिजन लाइफ इन्स्योरेन्सले ७५ करोड रूपैयाँ आईपीओ निष्काशन गर्ने भएको छ । संस्थापक शेयरधनीको तर्फबाट जारी पूँजीको ७० प्रतिशत अर्थात एक अर्ब ७५ करोड रूपैयाँ पूँजी चुक्ता भैसकेको छ । सर्वसाधारणमा ७५ लाख कित्ता शेयर जारीपछि इन्स्योरेन्सको आईपीओ निष्काशन पश्चात दुई अर्ब ५० करोड रूपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

यसैगरी युनियन लाइफ इन्स्योरेन्स ६४ करोड ५० लाख रुपैयाँ आईपीओ निष्काशन गर्ने तयारीमा छ । कम्पनीको हाल चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत बबराबरको ६४ लाख ५० हजार कित्ता आइपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब १५ करोड रुपैयाँ पुग्ने छ ।

अन्य पाँच कम्पनीहरु रिलायबल लाइफ, सन नेपाल लाइफ, आइएमई लाइफ, महालक्ष्मी लाइफ र सानिमा लाइफ इन्स्योरेन्सले ६० करोड रुपैयाँका बराबरको ६०।६० लाख कित्ताका दरले कुल ३ अर्ब रुपैयाँको आईपीओ निष्काशन गर्ने तयारीमा छन् ।  आइपीओ निष्काशन पछि यी पाँच वटै कम्पनीको चुक्ता पूँजी बीमा समितिले तोके बमोजिम अर्थात दुई अर्ब रुपैयाँ पुग्नेछ ।

S.N. Life Insurance Company  Paid Up Capital (in Crore) IPO Issued Amount (in Crore) Paid Up Capital After IPO (in Crore)
1 Citizen Life Insurance Company  175.00 75.00 250.00
2 Union Life Insurance Company  150.50 64.50 215.00
3 I.M.E. Life Insurance Company  140.00 60.00 200.00
4 Mahalaxmi Life Insurance Company  140.00 60.00 200.00
5 Reliable Nepal Life Insurance  140.00 60.00 200.00
6 Sanima Life Insurance Company  140.00 60.00 200.00
7 Sun Nepal Life Insurance Company  140.00 60.00 200.00
Total Amount Crore 1025.50 439.50 1465.00
  • तीन कम्पनीको रेटिङ सम्पन्न

आईपीओ निष्काशनको तयारीमा रहेका ७ बीमा कम्पनीमध्ये ३ वटाले क्रेडिट रेटिङ समेत सम्पनन गराएका छन् । सिटिजन लाइफ, यूनियन लाइफ र सन नेपाल लाइफले रेटिङ गराएका हुन् ।

सिटिजन लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर (आईपीओ) लाई क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले ‘इक्रा एनपी आईआर ट्रिपल बि माइनस’ रेटिङ दिएको छ ।

यूनियन लाइफले इन्स्योरेन्सको आईपिओले इक्रा नेपालबाट ‘इक्रा एनपी आर्ईपीओ ग्रेड ४ प्लस’ रेटिङ पाएको छ । यसले कम्पनीको समग्र वित्तीय अवस्था औषत भन्दा कमजोर रहेको भन्ने जनाँउछ ।

त्यस्तै, सन नेपाल लाइफले आइपीओ निष्काशनका लागि केयर रेटिङ्ग नेपालले ‘गे्रड ४’ प्रदान गरेको छ । जसले औषत भन्दा कमजोर वित्तीय अवश्था रहेको कम्पनी भन्ने बुझाउँदछ ।

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ चैत्र २०७७, आइतबार  १० : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।